नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतीक्षापछि मतदान प्रक्रिया सुरु भएको छ। अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमा परीक्षण मतदान गरेसँगै महाधिवेशन प्रतिनिधिहरूका लागि मतदान खुला गरिएको हो।
भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा बिहानैदेखि हजारौँ प्रतिनिधिहरू मतदानका लागि लाममा उभिएका छन्। प्राविधिक कारणले पटक–पटक सारिएको मतदान मङ्गलबार रातिसम्म सुरु हुन नसकेपछि बुधबार बिहानका लागि पुनः तालिका तय गरिएको थियो।
निर्वाचन आयोगले ८० वटा विद्युतीय मतदान मेसिन प्रयोगमा ल्याएको छ। भीड व्यवस्थापनका लागि एकपटकमा ५० जनालाई मात्र मतदान कक्षमा प्रवेश गराइने व्यवस्था गरिएको छ भने महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको प्रबन्ध मिलाइएको छ। अध्यक्ष पदमा वर्तमान अध्यक्ष ओली र वरिष्ठ नेता पोखरेलबीच प्रत्यक्ष प्रतिस्पर्धा रहेको छ।
दुवै नेताले आ–आफ्ना प्यानलसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन्। कुल २,२६३ महाधिवेशन प्रतिनिधिले ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि मतदान गर्दैछन्, जसमा केही पद भने निर्विरोध टुंगिसकेका छन्। मतदान सम्पन्न भएपछि तुरुन्तै मतगणना सुरु भई नयाँ नेतृत्व सार्वजनिक हुने अपेक्षा गरिएको छ।
महाधिवेशन स्थलमा विभिन्न प्यानलका समर्थकहरूले नाराबाजी गर्दै अन्तिम चरणको मत माग्ने गतिविधि तीव्र बनेको छ। यस महाधिवेशनमार्फत पार्टी संगठन सुदृढीकरण र भावी राजनीतिक रणनीतिलाई केन्द्रमा राखिएको छ।


