काठमाण्डौ — आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। दुई महिनाअघि कायम भएको रेकर्ड तोड्दै सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि असोज ३१ गते सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेर रेकर्ड बनेको थियो। अघिल्लो दिनको तुलनामा आइतबार सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढेको हो। शनिबार प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुन किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक ३ गते (अक्टोबर २०) कायम भएको उच्चतम रेकर्ड अझै नतोडिएको महासंघले जनाएको छ। उक्त दिन सुनको मूल्य प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलर पुगेको थियो भने हाल करिब ४ हजार ३०० डलरको आसपासमा कारोबार भइरहेको छ। तिहार बिदाका कारण कात्तिक ४ देखि ८ गतेसम्म नेपालमा मूल्य समायोजन हुन नसक्दा पछिल्ला दिनमा मूल्य एकाएक बढेको देखिएको छ।
महासंघका अनुसार अमेरिकी डलरको मूल्यवृद्धिका कारण अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा सुनको मूल्य छिटो रेकर्ड स्तरमा पुगेको हो।
यसैबीच, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ९०५ रुपैयाँको हालसम्मकै उच्च रेकर्ड बनाएको चाँदीको भाउ आइतबार ८० रुपैयाँ घटेर प्रतितोला ३ हजार ८२५ रुपैयाँमा झरेको छ।


