Banner Nepal
राष्ट्र बैंकका गभर्नरलाई बर्खास्त गर्न जेन-जी युनाइटेडको माग

काठमाण्डौ — जेन–जी युनाईटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई पदबाट हटाउन माग गरेको छ। संगठनको प्रतिनिधि टोलीले आइतबार सिहंदरबारमा अर्थमन्त्री रामेश्वर खनाललाई भेटी गभर्नर बर्खास्तीको औपचारिक माग प्रस्तुत गरेको हो।

जेन–जी युनाईटेडका संयोजक जनक परियारका अनुसार गभर्नर पदका लागि आवश्यक योग्यता र विषयगत विज्ञता डा. पौडेलसँग नरहेको दाबी गरिएको छ। उनले नियुक्तिका क्रममा पेश गरिएका शैक्षिक प्रमाणपत्र, कार्यअनुभव र विषयविशेष दक्षता नै गभर्नर पदका लागि अयोग्य देखिएको आरोप लगाए।

राजनीतिक भागबण्डाका आधारमा गभर्नर नियुक्त गरिएको दाबी गर्दै परियारले डा. पौडेल राजनीतिक दलसँग आबद्ध रहेको, सानिमा बैंकका संस्थापक सेयरधनी भएको तथा तत्कालीन सरकारले गठन गरेको गभर्नर सिफारिस समितिमा सदस्य रहेर राजीनामा दिएपछि गभर्नर बनेको विषय विवादास्पद रहेको बताए। उनका अनुसार यस प्रक्रियासँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालतमा समेत मुद्दा दर्ता भएको उल्लेख गर्दै तत्काल बर्खास्ती आवश्यक भएको जेन–जी युनाईटेडको निष्कर्ष छ।

राष्ट्र बैंक ऐनले राजनीतिक दलको सदस्य रहेका व्यक्तिलाई गभर्नर हुन नपाउने व्यवस्था गरेको स्मरण गराउँदै संगठनले शैक्षिक योग्यतामा पनि प्रश्न उठाएको छ। ऐनअनुसार आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्क, गणित वा वाणिज्य कानुन विषयमा स्नात्तकोत्तर आवश्यक पर्ने भए पनि डा. पौडेलले कम्प्युटर इन्जिनियरिङमा स्नातक, रिसोर्स एग्रिकल्चरमा स्नात्तकोत्तर र एग्रिकल्चर रिसोर्स इकोनोमिक्समा विद्यावारिधी गरेको उल्लेख गरिएको छ।

यससँगै जेन–जी युनाईटेडले अर्थतन्त्र सुधारका लागि लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न, विचौलियाको प्रभाव नियन्त्रण गर्न, बैंक तथा वित्तीय संस्थाले अनधिकृत रूपमा लिएको ब्याज फिर्ता गराउन, वैदेशिक ऋणको दुरुपयोग रोक्न तथा राजस्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण विभागलाई प्रभावकारी रूपमा जिम्मेवार बनाउन पनि अर्थमन्त्रीसँग माग गरेको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update