Banner Nepal
केन्द्रीय बैठकमा ओलीको असन्तुष्टि, पोखरेलप्रति कटाक्ष

काठमाण्डौ — नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आइतबार बिहान भृकुटीमण्डपमा बसेको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

आत्मआलोचना र प्रतिवेदनको आवरणमा आफूविरुद्ध योजनाबद्ध प्रहार भएको संकेत गर्दै ओलीले अरूको एजेन्डा बोकेर नेतृत्वमाथि प्रश्न उठाउने प्रयास भएको टिप्पणी गरेका हुन्। तत्कालीन प्रधानमन्त्रीका रूपमा आफूलाई कारबाही गर्नुपर्ने मागसमेत दस्तावेजमा समेटिएकोप्रति उनले रोष प्रकट गरेको बैठकमा सहभागी एक नेताले बताए। उनका अनुसार यस्तो माग विपक्षी दल वा मिडियाले समेत अघि नबढाएको अवस्थामा आफ्नै पार्टीभित्रबाट उठाइनु आपत्तिजनक भएको ओलीको भनाइ थियो।

यसअघि पोखरेलले जेन–जी आन्दोलनसँग सम्बन्धित छानबिन समितिमा ओलीले बयान दिनुपर्ने र दोषी ठहरिए कारबाहीको दायरामा आउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए।

आन्तरिक असन्तोषका बाबजुद ओलीले आफूलाई भाग्यमानी नेता भएको दाबी पनि बैठकमा राखेका छन्। नेतृत्व र कार्यकर्ताबाट असाधारण सहयोग पाएको उल्लेख गर्दै उनले पार्टीभित्रको समर्थनप्रति विश्वास व्यक्त गरेका थिए।

बैठकमा ओलीले महाधिवेशन प्रक्रिया र केन्द्रीय कमिटीको हैसियतबारे स्पष्ट पार्दै नयाँ नेतृत्व चयन भई शपथग्रहण नभएसम्म सबै वर्तमान सदस्यहरू केन्द्रीय कमिटीकै सदस्य रहने जानकारी गराए। साथै, बन्दसत्र सञ्चालनका लागि गठन हुने अध्यक्षमण्डलको अध्यक्षता पार्टी अध्यक्ष स्वयंले गर्ने स्पष्ट पारेका छन्।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update