Banner Nepal
तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका पूर्व प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईविरुद्ध घुस तथा रिसवत र सम्पत्ति शुद्धिकरण (मनी लन्ड्रिङ) सम्बन्धी दायर मुद्दामा विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट र सदस्य न्यायाधीश नारायणप्रसाद पौडेलको बहुमतले धरौटीमा छोड्ने आदेश दिएको हो। अर्का सदस्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठले भने भट्टराईलाई थुनामै राखिनुपर्ने फरक राय व्यक्त गर्नुभएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईले अध्यागमन प्रमुखका रूपमा कार्यरत रहँदा भिजिट भिसामार्फत विदेश पठाइदिने ‘सेटिङ’ मिलाएर २५७ जनाबाट ७९ लाख ८० हजार रुपैयाँ घुस लिएको दाबी गरेको छ। घुसबाट प्राप्त रकम लुकाइछिपाइ जग्गा खरिद गरी सम्पत्ति शुद्धिकरण गरेको आरोपमा पनि अभियोग दर्ता गरिएको छ। अख्तियारले यस प्रकरणमा भट्टराईबाट १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गर्न माग गरेको छ।

मुद्दाको बहसका क्रममा अभियोजन पक्षले भट्टराईको मोबाइल, ल्यापटप र डायरीको फरेन्सिक परीक्षणबाट प्राप्त विवरण, २५७ यात्रुको नामावली र रकमसम्बन्धी सांकेतिक टिपोट, ट्राभल कम्पनी र सञ्चालकसँगको बारम्बार सम्पर्क, सहप्रतिवादी कविता पौडेलको नाममा खरिद गरिएको भक्तपुरको जग्गा, कागजात तथा कल डिटेललाई प्रारम्भिक प्रमाणका रूपमा अदालतसमक्ष पेश गरेको थियो।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update