Banner Nepal
मनोनीत प्रतिनिधि सूचीप्रति ईश्वर पोखरेलको असहमति

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधिको सूचीलाई लिएर पार्टीभित्र विवाद उत्पन्न भएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका दाबेदार ईश्वर पोखरेलले मनोनीत प्रतिनिधिको सूचीप्रति असहमति जनाउँदै सहमति प्रक्रिया उल्लङ्घन भएको आरोप लगाउनुभएको छ।

हिजो बसेको सचिवालय बैठकमा मनोनीत प्रतिनिधिको नामावली पार्टी अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच छलफल गरेर अन्तिम टुंगो लगाउने सहमति भएको बताइएको थियो। सोही सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच सूचीलाई अन्तिम रूप दिने छलफल हुने तयारीसमेत रहेको जानकारी दिइएको थियो।

तर उक्त सहमति विपरीत आफूलाई जानकारी नै नदिई एकलौटी रूपमा मनोनीत प्रतिनिधिको सूची सार्वजनिक गरिएको पोखरेलको दाबी छ। सहमतिका आधारमा अघि बढ्नुपर्ने प्रक्रिया बेवास्ता गर्दै सूची प्रकाशन गरिनु पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासको विपरीत भएको उहाँको भनाइ छ।

मनोनीत प्रतिनिधिको सूची सार्वजनिक भएसँगै एमालेभित्र नेतृत्व तहमा असन्तुष्टि चुलिएको संकेत देखिएको छ। नेताहरूले यस विषयमा थप संवाद र छलफल आवश्यक रहेको बताएका छन्।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update