ऊर्जा, जलस्रोत तथा सिँचाइ एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर पुलको स्थलगत निरीक्षण गर्नुभएको छ। शनिबार बिहान चितवन र नवलपुर जोड्ने पूर्व–पश्चिम राजमार्ग खण्डमा निर्माणाधीन पुलको अवलोकन गर्दै उहाँले निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो।
मन्त्री घिसिङले ठेक्का सम्झौतामा उल्लेखित समय तालिकाअनुसार निर्माण अघि बढाई पुललाई नमुना परियोजनाका रूपमा उदाहरणीय बनाइनुपर्नेमा जोड दिनुभयो। निर्माणको जिम्मा पाएको तुँदी निर्माण कम्पनीका अनुसार परियोजना ३६ महिनाभित्र, अर्थात् २०८४ जेठसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
कम्पनीले प्राकृतिक विपद् नआए यसै वर्ष फाउन्डेसन र सब–स्ट्रक्चरका काम २५ देखि ३० प्रतिशतसम्म सम्पन्न हुने जनाएको छ। एक अर्ब ६९ करोड रुपियाँ लागतमा ठेक्का सम्झौता भएको यो पुल ४२० मिटर लम्बाइ र ११ मिटर चौडाइको दुई लेनको हुनेछ।
अत्याधुनिक प्रविधियुक्त पुलमा आर्च ब्रिज, केबल नेटवर्किङ, सस्पेन्सन संरचना तथा साइकल लेन रहनेछ। साथै जलयातायात सञ्चालनलाई ध्यानमा राखी दुई स्थानमा टावर निर्माण गरिने योजना छ।
२०३८ सालमा बनेको हालको पुल जीर्ण बन्दै गएपछि दीर्घकालीन समाधानका रूपमा नयाँ सिग्नेचर पुल निर्माण थालिएको हो। यस पुलको शिलान्यास २०८१ वैशाख ३१ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको थियो। निरीक्षणका क्रममा मन्त्री घिसिङले नारायणी तटबन्धको अवस्थाबारे पनि जानकारी लिनुभएको छ।


