राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकले लेवी तिर्न नमान्ने नेताहरू महाधिवेशन प्रतिनिधिबाट स्वतः बर्हिगमन हुने व्यवस्था गरेको छ। आज सम्पन्न बैठकले पार्टीमा अनिवार्य लेवी प्रणाली लागू गर्दै यसका लागि कडाइपूर्वक पालन गरिने निर्णय सार्वजनिक गरेको हो।
पार्टी प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिअनुसार केन्द्रीय पदाधिकारी तथा सदस्य बनेर महाधिवेशनमा सहभागी हुन चाहनेले पार्टीले तोकेको लेवी अनिवार्य रूपमा चुक्ता गरेको प्रमाण–रसिद पेस गर्नुपर्नेछ। लेवी नतिरी प्रतिनिधिमा चुन्निएका व्यक्तिहरूको महाधिवेशन प्रतिनिधित्व स्वतः खारेज हुने प्रावधान बैठकले अनुमोदन गरेको छ।
यसैक्रममा राप्रपाले वर्तमान नेतृत्वको कार्यकाल ६ महिना थप गरेको छ। सोही अवधि भित्रै आठौँ महाधिवेशन सम्पन्न गर्ने तयारी पार्टीले अघि सारेको छ।


