नेकपा (एमाले) ले शनिबारदेखि सुरु हुन लागेको ११औँ महाधिवेशनको उदघाटन सत्रमा तीन लाखभन्दा बढी सहभागी उतार्ने तयारी गरेको जनाएको छ। भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा फैलिएको १०८ रोपनी खाली जग्गामा प्रविधियुक्त आधुनिक मञ्च तयार गरिएको छ, जहाँबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने छन्।
महाधिवेशन तयारीबारे सल्लाघारीमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले न्यूनतम तीन लाख र अधिकमा पाँच लाख मानिस उपस्थिति गराउने लक्ष्य बनाइएको बताए। भीड व्यवस्थापनका लागि १० हजार तालिमप्राप्त स्वयम्सेवक परिचालन गरिनेछ। सुरक्षाका लागि सुरक्षाकर्मी, नेशनल युथ भोलेन्टियर्स तथा भूतपूर्व सैनिक पनि खटाइनेछन्। अध्यक्ष ओलीलाई गुण्डुदेखि सल्लाघारीसम्म तीन तहको सुरक्षा व्यवस्थासहित स्टेजसम्म ल्याइने उल्लेख गरियो।
स्वयम्सेवक परिचालन कमिटीका संयोजक तथा स्थायी कमिटी सदस्य भानुभक्त ढकालका अनुसार १० हजार स्वयम्सेवकमध्ये प्रत्येक १० जनामा एक कमाण्डर तोकिएको छ। उनीहरूले पूर्वतयारी, कार्यक्रम व्यवस्थापन र सुरक्षासम्बन्धी विस्तृत जानकारी पाइसकेका छन्।
जनपरिचालन कमिटीका संयोजक डा. राजन भट्टराईले ११औँ महाधिवेशनले एमालेलाई अझ व्यवस्थित र प्राविधिक रूपमा उन्नत पार्टीका रूपमा प्रस्तुत गर्ने दाबी गरे। संविधानविरुद्धका प्रयासलाई रोक्दै अग्रगमनको अभियान महाधिवेशनबाट सुरु हुने स्पष्ट पार्दै उनले एमाले निर्णायक संदेश दिने बताए।
मञ्च व्यवस्थापन कमिटीका संयोजक तथा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले तीन किलोमिटर टाढासम्म सुनिने शक्ति भएको अत्याधुनिक साउण्ड सिस्टम जडान गरिएको जानकारी दिए। मञ्चको पृष्ठभूमिमा चाँगुनारायण, पशुपतिनाथलगायत प्रमुख धार्मिक एवं पर्यटकीय स्थलका तस्बिर राखिएको छ। दायाँ–बायाँ डिस्प्ले बोर्ड, धरहरासहित पार्टी लोगो अंकित व्यानर र अध्यक्ष ओलीको ठूलो तस्बिरले मञ्च सजाइएको छ। एमालेले सांस्कृतिक पहिचान प्रवर्द्धनलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।


