विस्तारित मन्त्रिपरिषद्मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका कुमार इङ्नाम पेसाले प्राध्यापक र अधिवक्ता दुवै हुन्। उनले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरे।
अन्तर्राष्ट्रिय व्यापार, मध्यस्थता तथा वित्तीय अपराधसम्बन्धी कानुनका विज्ञ इङ्नाम ‘काठमाडौं स्कुल अफ ल’ मा प्राध्यापन गर्दै आएका छन्। कानुन विषयका अनेकन पुस्तकका लेखक उनी यसअघि इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा पनि अध्यापन गर्थे।
पहिचान मुद्दामा सक्रिय बौद्धिक व्यक्तित्वका रूपमा चिनिँदै आएका इङ्नामले प्राध्यापन र वकालत दुवै क्षेत्र समानान्तर रूपमा अघि बढाएका छन्।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा कानुनी क्षेत्रबाट आएका यो तेस्रो मन्त्री हुन्। यसअघि गृहमन्त्री ओमप्रकाश अर्याल र उद्योगमन्त्री अनिल सिन्हा पनि कानुनी पृष्ठभूमिबाटै क्याबिनेटमा शामिल भएका छन्। अर्याल अधिवक्ता हुन् भने सिन्हा पूर्वन्यायाधीश।


