किवानिज इन्टरनेशनलको भाइस प्रेसिडेन्ट पदका लागि मोहन लम्सालले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्। करिब ११ वर्षसम्म किवानिजमार्फत स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म विभिन्न जिम्मेवारी सम्हालेका लम्साल हाल बोर्ड अफ ट्रस्टीको सदस्यको रूपमा कार्यरत छन्।
लम्सालले संगठनभित्र एकताको आवश्यकतामा जोड दिँदै बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि आफूले निरन्तर समय र ऊर्जा खर्च गर्दै आएको बताउँदै आएका छन्। किवानिजलाई अझ सुदृढ, समावेशी र दीर्घदृष्टियुक्त बनाउने उद्देश्यसहित उनले उम्मेदवारी अघि सारेका हुन्। उनको लक्ष्य किवानिजलाई विश्वभर प्रभावकारी सामाजिक सेवा गर्ने अग्रणी संस्थाको रूपमा थप उचाइमा पुर्याउनु रहेको छ।
सन् १९१५ जनवरी २१ मा स्थापना भएको किवानिज इन्टरनेशनल स्वयंसेवकमार्फत ‘एक बच्चा, एक समुदाय’ सुधार गर्ने उद्देश्य बोकेको विश्वव्यापी संस्था हो। हाल करिब ८५ देश र भौगोलिक क्षेत्रका झण्डै ६ लाख ५० हजार सदस्यले प्रत्येक वर्ष करिब १ लाख ५० हजार सामाजिक सेवा परियोजना सञ्चालन गर्दै आएका छन्।


