भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित सात जना व्यक्ति र दुई कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर प्रक्रिया अघि बढाएको छ। आयोगले बिहीबार समावेश व्यक्तिहरूमाथि घुस–रिसवत तथा सम्पत्ति शुद्धीकरणका छुट्टाछुट्टै मुद्दा पेस गरेको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।
उनका अनुसार घुस–रिसवतसम्बन्धी मुद्दामा सहसचिव भट्टराई, अध्यागमन अधिकृत यज्ञराज अर्याल, ग्रिन लाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्का, राम खड्का, फ्यामिली होलिडेज एन्ड टुरका दीपक भण्डारी, सिआइएसटीकी ल्याब सहायक कविता पौडेल र जग्गा व्यवसायी खेमराज सुवेदीलाई प्रतिवादी बनाइएको छ। कम्पनीतर्फ ग्रिन लाइन होलिडेज र फ्यामिली होलिडेज एन्ड टुरलाई मुद्दामा समावेश गरिएको छ।
सम्पत्ति शुद्धीकरण पक्षमा सहसचिव भट्टराई, कविता पौडेल र खेमराज सुवेदीमाथि एक करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गरिएको छ। घुस–रिसवतमा भने भट्टराईमाथि ७९ लाख ८० हजार, अर्यालमाथि ८ लाख, बालकृष्ण खड्कामाथि ३० लाख २० हजार, दीपक भण्डारीमाथि १० लाख ६० हजार, राम खड्कामाथि ३० लाख २० हजार, कविता पौडेलमाथि ७९ लाख ८० हजार र खेमराज सुवेदीमाथि ७९ लाख ८० हजार रुपैयाँ बिगो तोकिएको छ।
अख्तियारको आरोपपत्र अनुसार, उनीहरूले २५७ जनालाई विदेश पठाउने नाममा विभिन्न सेटिङमार्फत बदनियतपूर्वक घुस असुलेर भ्रष्टाचारजन्य अपराध गरेका छन्।


