सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नियमित मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। केहीबेर अघि आरम्भ भएको बैठक हालसम्म जारी रहेको सरकारी स्रोतले जनाएको छ।
यसअघि, बुधबार सरकारले जेनजी समूहसँग औपचारिक सम्झौता गरेको थियो। सम्झौतामा भदौ २३ र २४ गते चलेको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिने निर्णय उल्लेख छ। नवयुवाहरूको असंगठित दबाबले तत्कालीन राजनीतिक सत्ता फेरबदल भएपछि जेनजी युवाका प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार गठन भएको थियो।
आन्दोलन अघि मागहरू स्पष्ट रूपमा नउठाइएका कारण त्यसका विषयहरू ओझेल पर्ने जोखिम बढेको थियो। यही कारण जेनजीका केही समूहले आफ्ना मुद्दा औपचारिक रूपमा राज्यसमक्ष दर्ता गर्न आग्रह गर्दै आएका थिए। कस्ता विषयहरू दस्तावेजीकरण गर्ने भन्नेमा लामो बहसपछि बुधबार सिंहदरबारमै आन्दोलनलाई संस्थागत गर्ने विषयमा समझदारी बनेको हो।
सम्झौता बमोजिम भदौ २३–२४ को आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिलाई शहीद घोषणा गरिनेछ।


