काठमाण्डौ — जेन–जी आन्दोलनका बीच देखिएको अराजक वातावरणले देशभरका प्रमुख नेताहरू सुरक्षा जोखिममा परेका थिए। ती घटनाबाट तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि जोगिन सकेनन्। आंदोलन र त्यसपछिका अस्थिर गतिविधिको मुख्य निशाना ओली स्वयं बनेकाले उनीप्रति खतरा अझ बढी मानिएको थियो।
यही जटिल परिस्थितिमा ओलीको सुरक्षा जिम्मा सम्हाल्दै अगाडि आएका व्यक्ति हुन्—अमित लामा। युवा संघको तल्लो तहबाट राजनीतिक यात्रा सुरु गरेका लामा केन्द्रीय सदस्य, कोषाध्यक्ष र लगातार तीन कार्यकाल उपाध्यक्ष भइसकेका छन्। अहिले उनी पार्टीको पूर्णकालीन भूमिकामा काभ्रे एमालेको तीन कार्यकालदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै प्रदेश कमिटी सदस्यका रूपमा सक्रिय छन्।
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तयारीका क्रममा सल्लाघारी, भक्तपुरमा व्यस्त रहेका लामाले यसपटक केन्द्रीय सदस्य बन्ने आकांक्षा व्यक्त गरे। सामान्य परिवारमा जन्मिएका उनले सानैदेखि व्यवसायिक क्षेत्रमै संलग्न हुँदै आत्मनिर्भर जीवन निर्माण गरेका थिए। राजनीतिक गतिविधि र उद्यमशील यात्रालाई सँगै अगाडि बढाउने क्रममा व्यक्तिगत समय र व्यवसायिक अवसर त्याग्नुपरे पनि उनले पार्टीप्रति निरन्तरता छाडेनन्।
जेन–जी आन्दोलनपछि दलका शीर्ष नेता नै सुरक्षा जोखिममा परेका बेला लामाले अध्यक्ष ओलीका लागि छुट्टै सुरक्षा संयन्त्र बनाउँदै नेतृत्व गरेका थिए। राजनीतिक गतिविधि सीमित गरिएको अवस्थामा प्रहरी प्रशासनले ठूलो कार्यक्रम नगर्न चेतावनी दिँदा पनि उनले पार्टी, अध्यक्ष तथा केन्द्रीय कमिटी बैठकको सुरक्षा र व्यवस्थापन जिम्मेवारी उठाए। ललितपुर झम्सिखेलस्थित रामबाग महलमा सम्पन्न भएको असोज २९, ३० र ३१ गतेको केन्द्रीय कमिटी बैठक उनीकै लगानीमा सञ्चालित पार्टी प्यालेसमा गरिएको थियो।
कुनै पनि जोखिम वा सम्भावित खतरा बेवास्ता गर्दै पार्टीका लागि सबै स्रोत–साधन खुला गर्ने लामा भौतिक व्यवस्थापनदेखि अध्यक्ष ओलीको सुरक्षा सम्हाल्न पूर्ण रूपमा तयार देखिन्थे।
अब उनी पार्टीको केन्द्रीय कमिटीमा प्रवेश गरी देशभरका युवालाई एमालेप्रति अझ आकर्षित बनाउने लक्ष्य राख्छन्। ‘युवालाई सिर्जनशील, आत्मनिर्भर र जिम्मेवारीयुक्त भूमिकामा ल्याउनु नै मेरो मुख्य एजेण्डा हो,’ उनले बताए। एमाले युवालाई केवल पछाडि लाग्ने पंक्तिमा सीमित नगर्ने, बरु देश निर्माणमा सक्रिय भूमिकासहित अघि बढाउने पार्टीका रूपमा स्थापित गर्न चाहने लामाले यसपटक खुला क्लस्टरबाट उम्मेदवारी दिने तयारी गरेका छन्।


