Banner Nepal
मुग्लिन–पोखरा पश्चिम खण्डमा तीव्र प्रगति, यात्रा झनै सहज

काठमाण्डौ — पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नतिको पश्चिम खण्डमा भौतिक प्रगति उल्लेखनीय रूपमा अघि बढेको छ। बारम्बार पहिरो, वर्षामा हिलो र सुक्खामा धुलोका कारण यात्रुहरूले भोग्दै आएको कठिनाइ कम भएको छ। विशेषगरी म्याग्दे गाउँपालिकास्थित मौरीबास क्षेत्रमा कालोपत्रे अन्तिम चरणमा पुगेपछि यो खण्डको यात्रा झनै सहज भएको स्थानीयको प्रतिक्रिया छ।

पोखरा–जामुने खण्डमा पिच र विस्तार कार्य द्रुत—गतिमा भइरहेको छ। ३८ मध्ये ३७ किमी एकतर्फी कालोपत्र पूरा भइसकेपछि यातायात सुचारु र छरितो बनेको छ। केही स्थानमा दोहोरो तहसम्म पिच सम्पन्न भइसकेका छन्, जसले यात्रालाई थप सहज बनाएको छ।

यात्रु विष्णु गन्धर्वका अनुसार अब दमौली–पोखरा यात्रामा समय उल्लेख्य रूपमा घटेको छ। “पहिले डेढ घण्टा लाग्थ्यो, अहिले एक घण्टामै पुग्न सकिन्छ,” उनले बताए।

आयोजनाका इन्जिनियर सहनशीला कायस्थका अनुसार पश्चिम खण्डको समग्र भौतिक प्रगति ६० प्रतिशत नाघिसकेको छ। सडक चौडाइ विस्तार, सर्भिस लेन, नाला, कल्भर्ट तथा पुल निर्माण एकैसाथ अघि बढिरहेको छ। यस खण्डका १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका छन्, सेती नदीको पुलमा पनि आधाभन्दा बढी प्रगति भएको छ।

दैनिक करिब ६०० मजदुर खटिने यस क्षेत्रमा मासिक करिब १८ हजारजना मजदुरले रोजगारी पाइरहेका छन्। केही स्थानमा संरचना सार्ने प्रक्रिया, रुख कटानी र निजी घर हटाउने विषयमा ढिलाइ भए पनि योजना कार्यालयका अनुसार समग्र प्रगति लक्ष्यानुसारै छ।

अवरोध हटेसँगै यात्रुहरूले सहज, छरितो र सुरक्षित यात्राको अनुभव गर्न थालेका छन्। निर्धारित म्यादमै काम सकिएपछि आधुनिक मानकअनुसारको राजमार्ग सार्वजनिक हुनेछ भन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update