काठमाण्डौ — बराहक्षेत्र नगरपालिका, चक्रघट्टी सुनसरीका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा कारबाही प्रक्रिया अघि बढाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार मण्डलले भारतको विहार विद्यालय परीक्षा समिति, पटनाबाट माध्यमिक तह प्रथम श्रेणी उत्तीर्ण गरेको झुटा प्रमाणपत्र पेस गरी २०५३ साउन १ गतेदेखि सहायक सव–ओभरसियर पदमा स्थायी नियुक्ति हासिल गरेका थिए।
त्यसपछि २०६७ माघ ७ गते उहाँ सहायक इन्जिनियर पदमा बढुवा भई तलब, भत्ता र सरकारी सेवाका सबै सुविधा लिएको आयोगले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा प्रस्तुत शैक्षिक योग्यताका कागजात पूर्ण रूपमा नक्कली भएको पुष्टि भएपछि आयोगले मण्डलमाथि कानुनी कारबाही अघि बढाएको हो।
मण्डलमाथि साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ तथा दफा २९(२), साथै सोही ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना दाबी गर्दै बुधबार विशेष अदालत, काठमाण्डौमा आरोपपत्र दायर गरिएको आयोगले जानकारी दिएको छ।


