काठमाण्डौ — प्रधानमन्त्री सुशीला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको दु्रष्टिकोण मुलुकमै सुनिश्चित गर्ने राष्ट्रिय लक्ष्य जेन–जी आन्दोलनपछि झनै स्पष्ट र सबल भएर प्रस्तुत भएको टिप्पणी गर्नुभएको छ। काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह (पहिलो चरण) लाई सम्बोधन गर्दै उपकुलपतिसमेत रहनुभएकी कार्कीले विश्वभर उच्च शिक्षामा व्यापक रूपान्तरण भइरहेको उल्लेख गर्दै नेपाल पनि ती परिवर्तनका अपेक्षाबाट अछुतो नरहेको बताउनुभयो।
उहाँका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स, भर्चुअल रियालिटी, बसाइँसराइको प्रवृत्ति र विश्व भूराजनीतिक वातावरणका कारण उच्च शिक्षामा तीव्र परिवर्तन सम्भव भएकाले नेपालमा पनि समान तयारी आवश्यक छ। तर, देशको उच्च शिक्षामा सरकारी लगानी अझै सीमित भइरहेकाले लक्ष्य हासिल गर्न कठिनाइ बढिरहेको उहाँको टिप्पणी थियो।
प्रधानमन्त्री कार्कीले लगानी वृद्धि तथा उच्च शिक्षा क्षेत्रमा गैरराजनीतिक माहोल बनाउनु आजका दिनको अनिवार्य आवश्यकता रहेको भन्दै अनावश्यक दलीय हस्तक्षेपले शिक्षागत प्रगतिमा चुनौती थपेको उल्लेख गर्नुभयो। सरकार अहिले केही संरचनात्मक सुधारतर्फ अघि बढेको उहाँको भनाइ थियो।
समारोहमा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा. शान्तिश्री धुलिपुडी पण्डितले विद्यार्थीले पाएको ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो। काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले पछिल्लो छ वर्षमा तीन लाख ५० हजार विद्यार्थी उच्च शिक्षाका लागि विदेशिएको र त्यसबापत करिब १० अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा बाहिरिएको तथ्य प्रस्तुत गर्नुभयो।
वाग्लेका अनुसार चालू शैक्षिक सत्रमा विद्यार्थी संख्या २३ प्रतिशतले बढेको छ। विश्वविद्यालयले अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै हालसम्म ३०० भन्दा बढी विदेशी संस्थासँग सम्झौता गरिसकेको छ। यसै क्रममा ‘हिमालय युनिभर्सिटिज कन्सोर्टियम’ (एचयुसी) को सचिवालय पनि केयूमा स्थानान्तरण भएको छ।
बुधबार सम्पन्न दीक्षान्तको पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित भए, जसमा विभिन्न तहका ७ जना पीएचडी, ३९७ जना स्नातकोत्तर, ५० जना पीजीडी र १ हजार ७२८ जना स्नातक तहका विद्यार्थी सामेल रहे। दीक्षितमध्ये पुरुष ५२.२४ प्रतिशत र महिला ४७.७६ प्रतिशत छन्। १७ देशका १९६ विदेशी विद्यार्थी पनि दीक्षित भएका विश्वविद्यालयले जनाएको छ।
यस वर्ष पहिलोपटक स्कुल अफ साइन्सेज अन्तर्गत ‘मास्टर्स अफ फिलोसफी बाइ रिसर्च इन म्याथम्याटिक्स’ र ‘ब्याचलर अफ साइन्स इन एग्रिकल्चर’ का विद्यार्थी दीक्षित भए। स्कुल अफ मेडिकल साइन्सेजको ‘मास्टर्स अफ मेडिकल रिसर्च’ तहबाट २० जना पहिलो समूहका रूपमा स्नातक भए।
कुल मिलाएर काठमाडौँ विश्वविद्यालयबाट हालसम्म ५० हजार ४० जना विद्यार्थी दीक्षित भइसकेका छन्, जसमा ५ हजार ८६० विदेशीकामात्र छन्।
समारोहमा विभिन्न स्वर्णपदकहरू पनि प्रदान गरियो। स्नातकोत्तर तहमा सर्वोच्च सिजिपिए हासिल गरेका स्पेनका एमसाइट कास्टेलानो मेन्चाकाले चान्सलर स्वर्णपदक पाउनुभयो। स्नातक तहमा उत्कृष्ट प्रदर्शन गर्ने गौरव सिंह साउदलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरियो। अन्य सम्मानमध्ये अरुणा बुढाठोकी, सौगात दङ्गाल, रक्षा तिवारी, स्वस्तिका आचार्य र आल्सा रेग्मीलाई विभिन्न स्वर्णपदक प्रदान गरियो।


