काठमाडौं । झापाको बोलोचौक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभाले जग्गा खरिददेखि नगदरहित पालिका बनाउनेसम्मका महत्वपूर्ण निर्णय पारित गरेको छ ।
शिवसताक्षी नगरपालिकामा रहेको सहकारीको भवन निर्माणका लागि संस्थाको नाममा जमिन खरिद गर्ने निर्णय गरिएको हो ।
नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थाका ६५ प्रतिशत सदस्यको उपस्थिति रहेको थियो ।
संस्थाले छोटो समयमै शतप्रतिशत ऋण असुली गरेको, शेयर पूजी , बचत र ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको तथा समग्र प्रगति प्रशंसनीय रहेको भन्दै प्रमुख अतिथि कार्कीले सञ्चालकहरुको प्रंशसा गर्नु भएको थियो ।
सभाले शिवसताक्षी नगरपालिकालाई पूर्ण डिजिटल भुक्तानी प्रणालीमार्फत नगदरहित पालिका बनाउन सहयोग गर्ने, सदस्यहरूलाई नेपाल सरकारको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तथा नगरभित्रका सबै सहकारीहरूसँग सुमधुर सम्बन्ध कायम गरी सामूहिक कार्यक्रम सञ्चालन गर्ने लगायतका प्रस्ताव सर्वसम्मतिले पारित गरेको सहकारीका अध्यक्ष धमेन्द्रकुमार साहले जानकारी दिनुभयो ।
सभाको सञ्चालन बलराम ताजपुरियाले गर्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, अनुशासित तथा सक्रिय कर्मचारी र विशेष सहयोगीहरूलाई सम्मान गरिएको थियो ।
त्यस्तै २४ जना ज्येष्ठ नागरिक सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको सभाको अध्यक्षता गरेका संस्थाका अध्यक्ष साहले जानकारी दिनुभयो ।



