जेन–जी आन्दोलनका क्रममा ‘तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी)’ लेखिएको ज्याकेट लगाई प्रदर्शनमा सहभागी भएका तेन्जिङ दावा ५ लाख २० हजार धरौटी बुझाएर रिहा भएका छन्। विभिन्न तीन अभियोगसहित जिल्ला अदालत काठमाडौंमा पेश गरिएका दावालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
तेन्जिनविरुद्ध अभद्र व्यवहार, लिखतसम्बन्धी कसुर तथा नागरिकता–राहदानीसम्बन्धी अपराधमा मुद्दा दायर गरिएको थियो। प्रहरीले पक्राउका क्रममा उनको साथबाट गाँजा बरामद गरेको दाबी गरेको छ। साथै टीओबी समूहसँग जोडिएका १३ वटा बुलेट र पल्सर मोटरसाइकल पनि प्रहरी नियन्त्रणमा राखिएको छ।
प्रहरीका अनुसार भदौ २३ गते दिउँसो बिजुलीबजार क्षेत्रमा बाइक पड्काउँदै नारा जुलुस र भीडलाई उत्तेजित गर्ने गतिविधिमा दावा सहभागी थिए। उनले आफू ‘आधा तिब्बेतियन’ भएको बयान दिएका छन् भने समूहका अन्य सदस्य भने नेपाली मूलका रहेको प्रहरीको भनाइ छ।
हिरासतका क्रममा तेन्जिनले भीडलाई उकास्ने कार्यमा संलग्न भएको स्वीकार गर्दै गल्ती गरेको बताएको प्रहरी स्रोतले जनाएको छ।


