Banner Nepal
दीपक खड्काको घर तोडफोड गरेको प्रकरणमा तीन जनामाथि मुद्दा

नेपाली कांग्रेस नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको बुढानिलकण्ठस्थित घरमा तोडफोड र आगजनी भएको घटनामा संलग्न रहेको आरोपमा तीन जनामाथि पक्राउपछि मुद्दा दायर गरिएको छ। भदौ २३ र २४ का दिन जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरेको अभियोगमा महाराजगञ्ज प्रहरी वृत्तले सुर्खेत, काभ्रे र बुढानिलकण्ठ बसोबास गरेका तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेका थिए।

पक्राउ परेकामा सुर्खेत वीरेन्द्रनगर–९ का रणबहादुर सिंह, बुढानिलकण्ठका सुसम श्रेयस र काभ्रेकी रेखा सुनार (सानी सुनार) रहेका छन्। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध आपराधिक उपद्रव र डाँकासम्बन्धी मुद्दा दायर गरेको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले रणबहादुर र सुसमलाई थुनामा पुर्पक्ष चलाउने आदेश दिएको छ भने रेखालाई २५ हजार धरौटीमा रिहा गर्न निर्देश गरेको छ।

तिनै विरुद्ध साढे ७ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ। तत्कालीन मन्त्री खड्काका भाइ जीवन खड्काले दायर गरेको जाहेरीअनुसार बुढानिलकण्ठ–१ मा रहेको साढे डेढ तले घर, निजी तथा सरकारी सवारीसहित सुनका गरगहना, नगद पाँच लाख, ७०० डलर, ल्यापटप र अन्य बहुमूल्य सामग्री डाँकाबाट हराएको उल्लेख छ।

प्रहरीले दायर गरेको विवरणअनुसार जलाइएका सवारी साधनदेखि लिएर घरभित्रका सुन, हीरा, मोतीका गहना तथा अन्य सामग्रीसहित कुल क्षति साढे ७ करोड पुगेको दाबी गरिएको छ।

मुद्दामा समावेश तीनमध्ये रणबहादुर ११ वर्ष सेना सेवापश्चात २०६८ सालमा अवकाश लिएर बुढानिलकण्ठमै बस्दै आएका थिए। सुसम स्थानीय रेष्टुरेन्ट व्यवसायी हुन् भने रेखा ज्याला मजदुरी गर्दै आएकी महिला हुन्।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update