Banner Nepal
विश्वभर मारिएका पत्रकारमध्ये झन्डै आधाको मृत्युका लागि इजरायल जिम्मेवार

विश्वभर यो वर्ष मारिएका पत्रकारमध्ये करिब आधाको मृत्यु इजरायलका आक्रमणका कारण भएको अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता संस्था रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)ले जनाएको छ। संस्थाले मङ्गलबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार गाजामा इजरायली सेनाको आक्रमणमा २९ प्यालेस्टिनी पत्रकारको ज्यान गएको छ।

पेरिसस्थित यस संस्थाका अनुसार सन् २०२४ मा ६६ पत्रकारको हत्या भएको र हालसम्म यो संख्या ६७ पुगेको छ। इजरायली आक्रमणमा मारिएका पत्रकारको संख्या मात्रै विश्वव्यापी कुल मृतकमध्ये ४३ प्रतिशत छ, जुन दरले इजरायललाई पत्रकारका लागि ‘सबैभन्दा ठूलो खतरा’ बनाएको आरएसएफले जनाएको छ।

आरएसएफले सन् २०२४ डिसेम्बरदेखि पछिल्ला १२ महिनाका मृत्युको तथ्याङ्क संकलन गरेको हो। यस अवधिको सबैभन्दा घातक हमला अगस्ट २५ मा दक्षिण गाजाको एक अस्पतालमा भएको ‘डबल–ट्याप’ आक्रमण थियो, जसमा रोयटर्स र एपीका दुई योगदानकर्तासहित पाँच पत्रकारको मृत्यु भएको थियो।

अक्टोबर २०२३ मा गाजा युद्ध सुरु भएयता लगभग २२० पत्रकारको मृत्यु भइसकेको बताइएको छ, जसले इजरायललाई लगातार तेस्रो वर्ष विश्वकै ‘सबैभन्दा ठूलो पत्रकार हत्यारा देश’ बनाएको आरएसएफको तथ्याङ्कले देखाउँछ। इजरायली सेनाले आफ्नो निशाना हमासका लडाकु तथा नेताहरू रहेको दाबी गरे पनि विदेशी पत्रकारलाई गाजा प्रवेशमा रोक लगाइँदै आएको छ, जसले प्रेस स्वतन्त्रता कमजोर बनाएको आरएसएफको निष्कर्ष छ।

दोस्रो तर्फ, मेक्सिकोमा पत्रकार सुरक्षा सुनिश्चित गर्ने सरकारी प्रतिबद्धताबीच पनि सन् २०२५ तीन वर्षकै सबैभन्दा घातक वर्ष रहेको र नौ पत्रकारको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। युद्धग्रस्त युक्रेनमा तीन र सुडानमा चार पत्रकारको ज्यान गएको छ।

यस वर्षको विश्वव्यापी पत्रकार मृत्यु दर सन् २०१२ मा सिरियाली गृहयुद्धका समयमा मारिएका १४२ पत्रकारको तुलनामा कम भए पनि, दीर्घकालीन औसतका हिसाबले जोखिम उच्च नै रहेको संकेत आरएसएफले गरेको छ।

आरएसएफका सम्पादकीय निर्देशक एनी बोकान्डेले पत्रकारमाथिको आक्रमण ‘यादृच्छिक नभई योजनाबद्ध’ भएको दाबी गर्दै पत्रकारलाई लक्षित गर्ने प्रवृत्ति बढिरहेको चेतावनी दिइन्। उनका अनुसार पत्रकार द्वन्द्वका वास्तविकता बाहिर ल्याउने भएकै कारण उनीहरू जानाजानी निशाना बनाइन्छन्।

प्रतिवेदनले कामको क्रममा कैदमा परेका पत्रकारको अवस्थासमेत सार्वजनिक गरेको छ। चीनमा १२१, रुसमा ४८ र म्यानमारमा ४७ पत्रकार जेलमा छन्, जसलाई पत्रकारका लागि सबैभन्दा दमनकारी राष्ट्र मानिएको छ। सन् २०२५ डिसेम्बर १ सम्म ४७ देशमा ५०३ पत्रकार हिरासतमा रहेका तथ्याङ्क पनि प्रतिवेदनमा समेटिएको छ।

यद्यपि विभिन्न संस्थाले मृत्यु संख्या गणनाका फरक मापदण्ड प्रयोग गर्ने भएकाले युनेस्कोका अनुसार सन् २०२५ मा ९१ पत्रकारको हत्या भएको उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update