काभ्रेपलाञ्चोकमा यस वर्ष सुन्तला उत्पादन १० देखि १५ प्रतिशतसम्म वृद्धि हुने प्रक्षेपण गरिएको छ। गत वर्ष बाढीपहिरोका कारण करिब सात प्रतिशत गिरावट भएको उत्पादन यसपटक उकासिँदै बढ्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। कार्यालय प्रमुख कुलप्रसाद दवाडीका अनुसार पकेट क्षेत्रका बगैँचाहरूको प्रारम्भिक लगतसमेत हेर्दा उत्पादनमा उल्लेख्य वृद्धि देखिएको छ।
स्थानीय तहको सहयोग, सुधारात्मक कार्यक्रम र सुन्तलाखेती प्रवर्धनका गतिविधिले परिणाम दिन थालेको दवाडीको भनाइ छ। यद्यपि बेथानचोकलगायतका क्षेत्रमा पुराना बोटका कारण अझै केही बगैँचामा उत्पादन घट्ने प्रवृत्ति देखिएको बताइयो। विगतका वर्षमा रोग–कीराले उत्पादनमा वार्षिक करिब दुई प्रतिशत गिरावट ल्याउँथे भने गत वर्ष बाढीपहिरोले ५०० मेट्रिकटन उत्पादन घटाएको कार्यालयको तथ्यांक छ।
जिल्लामा करिब १३०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ। २०८१ मा सात हजार ५०० मेट्रिकटन उत्पादन हुने लक्ष्य भए पनि क्षतिका कारण त्यो पूरा हुन सकेन। यसवर्ष भने करिब आठ हजार मेट्रिकटन उत्पादन हुने प्रक्षेपण गरिएको छ।
सुन्तला सुधार कार्यक्रम, किसान जागरण अभियान, रोग–कीरा नियन्त्रण तालिम र बोटको उपचारका प्रयास निरन्तर जारी छन्। बगैँचामा सुक्ष्म खाद्यत्वको अभाव देखिएपछि पुराना बोटको काटछाँट, ऐजेरु हटाउने, चुन तथा निलोतुथो प्रयोगजस्ता विधिबाट उपचार गरिएको कार्यालयले जनाएको छ। औँसा कीराको प्रकोप केही वर्षअघि करिब २० प्रतिशत बगैँचा क्षेत्रमा देखिँदै आएको थियो, जसका कारण १० प्रतिशतसम्म फल कुहिने समस्या देखिन्थ्यो।
पनौती, धुलिखेल, नमोबुद्ध र बेथानचोकलाई जिल्लाका मुख्य सुन्तला पकेट क्षेत्र मानिन्छ। यी क्षेत्रमा सञ्चालन भएका कार्यक्रमले उत्पादन वृद्धि हुने विश्वास कार्यालयले व्यक्त गरेको छ।


