सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासनमार्फत भ्रष्टाचारको अन्त्य र निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको उच्चतम प्राथमिकता भएको स्पष्ट गरेका छन्। ललितपुरको इमाडोलस्थित कृष्ण मन्दिरमा श्रीकृष्ण प्रणामी जिल्ला सेवा समिति ललितपुरद्वारा सुरु गरिएको ‘श्रीमत्तारतम’ सागर पाठपारायण सप्ताह ज्ञान महायज्ञ २०८२ को उद्घाटन समारोहमा बोल्दै मन्त्री खरेलले आगामी निर्वाचनलाई सफल बनाउन सबै नागरिकको सहयोग आवश्यक रहेको उल्लेख गरे।
उहाँले जेनजेड आन्दोलनले उत्पन्न गरेको जनदबाबकै आधारमा वर्तमान सरकार गठन भएको उल्लेख गर्दै, “सरकारको प्रमुख ध्येय समयमै निष्पक्ष निर्वाचन सम्पन्न गर्नु नै हो,” भन्दै मतदाताहरूलाई जिम्मेवारीपूर्वक सही प्रतिनिधि छान्न अनुरोध गरे।
समारोहमा मन्त्री खरेलले धर्म, मूल्य र मान्यताले समाजलाई सकारात्मक दिशातर्फ लैजान महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले समाजसेवामा सत्कर्मको भाव आवश्यक हुने बताउँदै धार्मिक तथा सांस्कृतिक कार्यक्रमले सामुदायिक एकता मजबुत बनाउने धारणा राखिन्।
आयोजक समितिका अध्यक्ष राजन थापाले असक्त तथा विपन्नलाई सहयोग पुर्याउने उद्देश्यले सप्ताहज्ञान महायज्ञ आयोजना गरिएको जानकारी दिए।


