Banner Nepal
कोटेश्वर चोक सुधारका लागि नेपाल–जापानबीच ३१ अर्बभन्दा बढी ऋण सम्झौता

काठमाण्डौ — नेपाल सरकार र जापान सरकारले कोटेश्वर चोक सुधार आयोजना अघि बढाउन सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर गरेका छन्। अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित समारोहमार्फत सम्झौता औपचारिक रूपमा सम्पन्न भएको हो।

सम्झौता अनुसार जापानले ३४.५९ अर्ब जापानी येन, अर्थात् करिब ३१.७६ अर्ब रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराउनेछ। जाइकामार्फत प्राप्त हुने यो ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष तथा वार्षिक ब्याजदर ०.२ प्रतिशत रहनेछ।

आयोजनाअन्तर्गत कोटेश्वर–जडीबुटी खण्डमा अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ। यसले काठमाडौँ, ललितपुर, भक्तपुर तथा बिपी राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधनको आवागमन तीव्र र व्यवस्थित बनाउन मद्दत गर्ने, साथै उपत्यकामा बढ्दो ट्राफिक जाम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। परियोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागमार्फत कार्यान्वयन हुनेछ।

ऋण सहायतासँग सम्बन्धित एक्सचेन्ज अफ नोट्समा अर्थ सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरेका छन्। त्यस्तै, ऋण सम्झौतामा सहसचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका हुन्।

समारोहमा सम्बोधन गर्दै अर्थमन्त्री खनालले परियोजनाले उपत्यकाको भीडभाडयुक्त क्षेत्रहरूमा दीर्घकालीन सुधार ल्याउने विश्वास व्यक्त गरे। जापानी राजदूत तोरुले नेपाल–जापानबीचको सुमधुर सम्बन्धको उल्लेख गर्दै परियोजना सफल कार्यान्वयनबाट यातायात व्यवस्थापनमा ठोस सुधार हुने धारणा राखे।

कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास तथा जाइका नेपालका वरिष्ठ प्रतिनिधिहरूको सहभागिता थियो।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update