पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमालेको राजनीतिलाई सत्ता केन्द्रित प्रवृत्तिबाट निर्देशित भएको भन्दै कडा आलोचना गरेका छन्। विराटनगरमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले जसरी भए पनि बालुवाटार पुग्ने मनोवृत्तिलाई ‘एमालेको बाटो’ का रूपमा व्याख्या गरे।
खनालका अनुसार सिद्धान्त र नीतिलाई पछाडि पारेर जथाभावी राजनीतिक गठजोड गर्नु क्रान्तिकारी मार्ग हुन सक्दैन। यस्तै, पटक–पटक कम्युनिस्ट नेतृत्वको सरकार बने पनि भूमिसुधार र कृषि क्रान्तिका मुद्दा सत्तामा पुगेपछि बिर्सने प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले त्यसप्रति असन्तुष्टि जनाए। कृषि उत्पादनको प्रभावकारी बजार व्यवस्थापनबिना कृषकको अवस्था परिवर्तन नहुने उनको तर्क थियो।
औद्योगिकीकरण नहुँदा ठूलो संख्यामा नेपाली युवायुवती रोजगारीका लागि विदेशिन बाध्य भएको बताउँदै उनले ‘स्वर्गजस्तो देशलाई नर्कजस्तो बनाइएको’ टिप्पणी गरे। उद्योग–व्यवसाय विस्तारमार्फत देशभित्रै अवसर सिर्जना गर्नुपर्नेमा खनालले जोड दिए।
पार्टी एकताबारे बोल्दै खनालले आफूहरू १६ दलले मार्क्सवाद–लेनिनवादलाई साझा आधार मानेर एकीकृत भएको बताए। सिद्धान्त, नीति र दीर्घकालीन लक्ष्यका आधारमा बनेको एकता टाउको वा पुच्छर जडान गरेजस्तो भौतिक एकता नभएको उनको भनाइ थियो।
नेपाली विशेषताको समाजवाद रणनीतिक लक्ष्य रहेको उल्लेख गर्दै उनले निर्वाचनलाई क्रान्तिकारी ढंगले उपयोग गर्नुपर्ने बताइरहेका थिए। खनालले पार्टी कार्यकर्तालाई आगामी निर्वाचनमा विजयी बनाउन सक्रिय रूपमा जुट्न समेत निर्देशन दिए।


