Banner Nepal
एचआइभी/एड्स नियन्त्रणमा एकता आवश्यक : मन्त्री गौतम

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले एचआइभी/एड्स महामारी अन्त्यका लागि सबै क्षेत्रको संयुक्त संलग्नता अपरिहार्य रहेको बताएका छन्। ३८ औँ विश्व एड्स दिवसका अवसरमा भिडियो सन्देश सार्वजनिक गर्दै उनले २०३० भित्र महामारी समाप्त गर्ने लक्ष्यअनुसार रोकथाम, उपचार र हेरचाहमा थप प्रभावकारी कदम आवश्यक रहेको स्पष्ट पारेकी हुन्।

उनका अनुसार एचआइभी प्रतिकार्यमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा समुदायस्तरमा सक्रिय समूहहरूले पुर्‍याएको योगदान उल्लेखनीय छ। यस वर्ष जेनजी आन्दोलनले दिएको ऊर्जा र जागरणले पनि प्रतिकार्यमा नयाँ प्रेरणा थपेको मन्त्री गौतमले बताइन्।

विश्वव्यापी आर्थिक चुनौती र भेदभावजस्ता अवरोध अझै कायम रहेको उल्लेख गर्दै उनले सबैका लागि उपचार तथा हेरचाहको पहुँच सुनिश्चित गर्न परिवर्तनकारी दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिइन्। एआरभी औषधी नियमित सेवन गरी स्वस्थ जीवन बाँचिरहेका संक्रमितहरूलाई शुभकामना व्यक्त गर्दै उनले भविष्यमा यस महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्ने आकांक्षा व्यक्त गरिन्।

नेपालले पछिल्ला दुई दशकमा एचआइभी नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरेको छ। सन् २०१० को तुलनामा २०२४ सम्म नयाँ सङ्क्रमण दर ७६ प्रतिशतले र एड्सका कारण मृत्यु दर ७६ प्रतिशतले घटेको छ। दिगो विकास लक्ष्य हासिल गर्न यी उपलब्धिलाई निरन्तरता दिन सक्रियता अपरिहार्य रहेको मन्त्री गौतमले बताइन्।

विश्वव्यापी मान्यता प्राप्त ९५–९५–९५ लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको भन्दै उनले ९५ प्रतिशतले आफ्नो एचआइभी अवस्था थाहा पाउने, तीमध्ये ९५ प्रतिशतले एआरभी उपचार पाउने र उपचाररत ९५ प्रतिशतमा भाइरल लोड न्यून गर्ने लक्ष्यले एड्स अन्त्यतर्फ ठोस प्रगति सम्भव हुने विश्वास व्यक्त गरिन्। हाल नेपालले क्रमशः ९०, ८८ र ७६ प्रतिशत लक्ष्य हासिल गरिसकेको छ।

यस वर्षको नारा ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ तय गरिएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update