कालिकोटको नरहरिनाथ गाउँपालिकामा सिँचाइ कुलो निर्माणमा देखिएको अनियमिततासम्बन्धी एक महत्वपूर्ण फौजदारी कारबाही अघि बढेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपाध्यक्ष मनशोभा बुढा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडा नम्बर ७ का तत्कालीन अध्यक्ष दलबहादुर विश्वकर्मासहित आठ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार नरहरिनाथ–७ मा रहेको आडिखोला सिँचाइ कुलो निर्माणका क्रममा गंभीर अनियमितता भेटिएपछि अनुसन्धान अघि बढाई आरोपपत्र दर्ता गरिएको हो। सम्झौताअनुसार ९३० मिटर पक्की कुलो निर्माण गर्नुपर्नेमा मात्र ३५४ मिटर निर्माण गरी ७३० मिटर पूरा भएको भन्दै झुटा कागजात तयार गरी १९ लाख ४८ हजार ४८८ रुपैयाँ १४ पैसा भुक्तानी गरिएको आयोगको निष्कर्ष छ।
यस प्रकरणमा सो पालिकाका तत्कालीन सव–इन्जिनियर अमर शाही र अनिलकुमार बिस्ट, उपभोक्ता समिति अध्यक्ष नरेशबहादुर शाही, सचिव कासी विश्वकर्मा र कोषाध्यक्ष मधु विश्वकर्माविरुद्ध पनि अभियोगपत्र दायर गरिएको आयोगले जनाएको छ।


