ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व–पश्चिम एशियन राजमार्गको विस्तृत स्थलगत अवलोकन गरेका छन्। एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको लगानीमा झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्म ९५ किलोमिटर सडक एशियन मापदण्डअनुसार स्तरोन्नति भइरहेकामा हालसम्म २५ प्रतिशत मात्रै प्रगति भएको छ।
इटहरी–बिर्तामोड खण्डको निर्माण अवस्था, देखिएका चुनौती, समाधानका उपाय तथा आगामी कार्ययोजनाबारे मन्त्री घिसिङले सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, परामर्शदाता र निर्माण कम्पनी प्रतिनिधिसँग विस्तृत छलफल गरे। उनले निर्माण गति अपेक्षाअनुसार नबढेको उल्लेख गर्दै हिउँदको अनुकूल मौसमलाई उपयोग गरी जनशक्ति र उपकरण थपेर काम तीव्र बनाउन निर्देशन दिए।
सडक विस्तारका क्रममा विद्युत पोल सार्ने विषयमा केही समस्या देखिए पनि आवश्यक समन्वयमार्फत कार्य अवरुद्ध नहुने मन्त्री घिसिङले बताए। राजमार्गलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ—काँकडभिट्टादेखि केरखा सितापुरीसम्मको ४५ किलोमिटर खण्डमा २९ प्रतिशत प्रगति छ। कात्तिक २०८० मा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता गरिएको यो भू–भाग तुलनात्मक रूपमा अगाडि बढेको देखिन्छ।
तर सितापुरीदेखि लविपुरसम्मको ५० किलोमिटर खण्डमा मात्र १३ प्रतिशत प्रगति भएको छ। आयोजनामा १३४ कल्भर्ट, वन्यजन्तुमैत्री अण्डरपास, सवारी अण्डरपास तथा पाँच वटा आकाशे पुललगायतका संरचना निर्माण समावेश छन्।


