नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी आगामी चुनावमा वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा नजाने संकेत पुनः दोहोर्याएका छन्। उनले कांग्रेसले नयाँ नीतिगत मार्गदर्शन र नयाँ नेतृत्वसहित चुनावमा सहभागी हुने स्पष्ट धारणा सार्वजनिक गरेका हुन्।
हिजो मात्र कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको र देउवाकै हस्ताक्षरमा निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया सम्पन्न गरेको घटनापछि धेरैले उठाएको प्रश्नबारे थापाले प्रष्ट प्रतिक्रिया दिएका छन्। उनले भने, “धेरै साथीहरूले सोधिरहनुभएको थियो—के पार्टी देउवाकै हस्ताक्षरमा चुनावमा जान्छ? होइन, जाने छैन।”
थापाका अनुसार अब कांग्रेस विधानअनुसार तोकिएको समयमै विशेष महाधिवेशनमा जानेछ, जसबाट नयाँ सभापति निर्वाचित हुनेछ। उनले जोड दिए, “विशेष महाधिवेशनबाट चुनिएका नयाँ सभापतिको हस्ताक्षरमा सुधारिएको निर्णय आयोगमा पुगोस्, र त्यही नेतृत्वमा पार्टी चुनावमा जाओस्।”
विशेष महाधिवेशन अब अपरिहार्य भएको उनको भनाइ छ। उनले पार्टीभित्रको अनिश्चितताबारे टिप्पणी गर्दै भने, “कुरा प्रष्ट छ—अलमलमा नपरौँ।”


