विश्वस्त स्रोतहरूका अनुसार संघीय सरकारले आज केहीबेरमै बस्ने मन्त्रिपरिषद् बैठकमार्फत सुमनराजलाई मुख्यसचिव नियुक्त गर्ने प्रक्रिया अघि बढाइरहेको छ। मंसिर १० गतेदेखि कार्यरत मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर सीमा पूरा गर्दै अनिवार्य अवकाशमा जाने भएका छन्।
वर्तमान पदक्रमअनुसार अर्याल सबैभन्दा प्रभावशाली र अनुभवी सचिव मानिन्छन्। हाल उनी रक्षा मन्त्रालयका सचिवका रूपमा कार्यरत छन्। यसअघि उनले राष्ट्रिय योजना आयोग, युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा कोशी प्रदेश सरकारका प्रमुख सचिवका रूपमा महत्वपूर्ण जिम्मेवारीसमेत सम्हालेका थिए। प्रशासनिक सुधारदेखि नीतिगत संरचना र संघीयता कार्यान्वयनसम्म उनले देखाएको नेतृत्व उच्चस्तरमा मूल्यांकन हुँदै आएको छ।
उता, पदक्रममा पहिलो स्थानमा रहेका गोकर्णमणि दुवाडी मुख्य दाबेदार मानिँदै आए पनि जेनजी आन्दोलनको समयमा गृहसचिव रहँदा उनी कार्यान्वयन, सुरक्षा व्यवस्थापन र राजनीतिक निर्णयमा जोडिएका मुद्दाका कारण कमजोर स्थितिमा पुगेका छन्। हाल जाँचबुझ आयोगले उनलाई विदेश यात्रा रोक्का गरेको तथ्यले पनि उनको सम्भावनामा नकारात्मक प्रभाव पारेको बताइन्छ।


