निर्वाचन नजिकिँदै जाँदा मुलुकभर सुरक्षा व्यवस्थापन सुदृढ गर्न आग्रह गर्दै निवर्तमान सांसद रामहरि खतिवडाले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका छन्। आइतबार भएको भेटमा खतिवडाले चम्पादेवी–०६, ओखलढुङ्गा घोराखरीसहित देशभर २३ वटा इलाका प्रशासन कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णयलाई छिटो कार्यान्वयन गर्न अनुरोध गरेका हुन्। यस मुद्दामा उनले गृहसचिव रामेश्वर दंगालसँग पनि विशेष बैठक गरेका थिए।
खतिवडाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा जाने निर्णय गरिसकेकाले देशभर शान्ति–सुरक्षाको वातावरण मजबुत बनाउनु अत्यावश्यक रहेको उल्लेख गरेका छन्। आगामी चुनाव निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त बनाउन आवश्यक पूर्वाधार तथा सुरक्षा तयारी तत्क्षण अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
भेटका क्रममा उनले पछिल्ला दिनमा केही अराजक समूहले गाउँ–गाउँमा गएर धम्क्याउने, त्रास फैलाउने तथा अवाञ्छित क्रियाकलाप गर्ने घटनामा वृद्धि भएको विषयलाई गम्भीरतापूर्वक उठाए। यस्ता गतिविधिले जनमानसमा असुरक्षा बढाउने र निर्वाचन प्रक्रियामा प्रतिकूल प्रभाव पार्न सक्ने भएकाले गृह मन्त्रालयले त्वरित र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता उनले जोड दिए। खतिवडाले राज्य संयन्त्रलाई सशक्त रूपमा परिचालन गरी कानुन–व्यवस्था मजबुत बनाउन आग्रह गरेका छन्।


