तीन वर्षभित्र सम्पन्न गर्ने योजना बनाएर २०७९ पुस १५ मा ठेक्का लिएको मुग्लिङ–मलेखु सडक स्तरोन्नति कार्य अहिलेसम्म ३५ प्रतिशत मात्र अघि बढेको छ। आगामी पुस १५ मा प्रारम्भिक म्याद समाप्त हुने भएकाले अब अवधि थप्ने प्रक्रिया सुरु भएको पश्चिम खण्ड मुग्लिङ–मलेखु सडक कार्यालयले जनाएको छ।
सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार डिजाइन परिमार्जनलगायतका कारण ठेकेदार कम्पनीले केही अतिरिक्त समय पाउने व्यवस्था मिलाइँदै छ। वर्षा र चाडपर्वको भीडभाडका कारण असारदेखि तिहारसम्म काम सुस्त भए पनि अहिले विस्तारमा पुनः गति आएको उहाँले बताए। निर्माण भइसकेका चार नयाँ पुललाई सडकसँग जोड्ने कार्य सुरू गरिएको छ भने बेरियर तथा ड्रेनेज निर्माण पनि अगाडि बढाइएको छ।
चरौदीखोलाको पुलमा एक फाउन्डेसन तयार भइसकेको छ भने अर्को निर्माण हुँदैछ। हुग्दीखोलाको पुलका दुवै फाउन्डेसन बनेर तयार भएका छन्। म्याद थपिएसँगै दुवै पुल तोकिएको लक्ष्यभित्रै सम्पन्न हुने व्यवस्था मिलाइँदै छ।
नवीन म्याद थपेर काम अगाडि बढेमा बाँकी संरचना यसै आर्थिक वर्षभित्र सम्पन्न गरी वर्षाअगाडि नै नयाँ पुलमार्ग सञ्चालन गर्ने लक्ष्य बनाइएको छ। थपिने म्याद एक वर्षको हुने र २०८३ पुसभित्र सम्पूर्ण परियोजना सम्पन्न गर्ने तयारी रहेको कार्यालयले जनाएको छ।
३८ किलोमिटरमध्ये १० किलोमिटर कालोपत्रे भइसकेको सडकमा थप १५ किलोमिटरका लागि तयारी भइरहेको छ। पाँच किलोमिटरमा कालोपत्रे जारी छ भने बाँकी भाग केही हप्तामै सुरू हुने जानकारी कार्यालयले दिएको छ।
यो खण्ड निर्माणका लागि ठेकेदार कम्पनीले चार अर्ब ८० करोड ५९ लाखको ठेक्का लिएको हो। विश्व बैंकको सहयोगमा बनेको यो सडक काठमाडौँ प्रवेश–निर्गमनको मुख्य मार्ग भएकाले दैनिक सवारीचाप र कच्चा सामग्री अभावले काम ढिलो भएको निर्माण कम्पनीको तर्क छ।
कृष्णभिरमा स्थायी समाधानको प्रयास:
वर्षायाममा बारम्बार भासिने धादिङको कृष्णभिर सडक खण्डमा स्थायी समाधानका लागि सुरु गरिएको माइक्रो–पाइलिङ कार्य पुनः गति पाएको छ। असारमा सक्ने भनिएको काम वर्षाको अवरोधपछि फेरि अगाडि बढाइएको सूचना अधिकारी मिश्रले जानकारी दिए।
२०५७ साउनमा ठूलो पहिरो आएर सडक बगाएपछि निर्माण गरिएको अस्थायी मार्ग नै हालसम्म प्रयोग भइरहेकामा गत वर्षको बर्सातले भासिएको स्थानमा स्थायी सुधारको काम अब तीव्र गरिँदै छ।


