भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षणपछि धनुषा–सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्र सम्पन्न गर्ने निर्माण कम्पनीले प्रतिवद्धता जनाएको छ। तराई–मधेसको प्रमुख यातायात मार्ग मानिने हुलाकी राजमार्गअन्तर्गत पर्ने यो पुल २०६८ सालमै तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता भए पनि १४ वर्ष बितिसक्दा पनि अझै अपूरै थियो।
शुक्रबार मन्त्री घिसिङ स्वयं डुङ्गा चढेर नदी पार गर्दै स्थानीयले भोग्दै आएको जोखिम, असुरक्षा र दैनिक सास्तीको प्रत्यक्ष अनुभूति लिन निर्माणस्थल पुगेका थिए। निरीक्षणपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उहाँले वर्षौंदेखि स्थानीयले सहनुपरेको कठिनाइ देखेर मन भारी भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार, अनुगमनका क्रममा देखिएको समस्या समाधानका लागि अस्थायी आवतजावत व्यवस्थामा समेत छलफल भएको छ।
उहाँले प्राविधिक पक्षका कमजोरीबारे सम्बद्ध निकायहरू जिम्मेवार बन्नुपर्ने र मन्त्रीस्तरीय अनुगमन निरन्तर जारी रहने स्पष्ट पार्नुभएको छ। पुल निर्माणको जिम्मेवारी पाएको लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णुप्रसाद शर्माले तीन महिनाभित्र काम सम्पन्न गरी सञ्चालनमा ल्याउने प्रतिज्ञा व्यक्त गरेका छन्।
२०६८ सालमा सुरु गरिएको यो परियोजना पटक–पटक म्याद थपिँदै १३ वर्षसम्म लम्बिएको हो। पप्पु कन्स्ट्रक्सनले समयमा काम सम्पन्न गर्न असफल भएपछि कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले अघि बढाइरहेको हो। २०७८ असार १७ को बाढीले पुलका दुई जग भासिँदा थप क्षति पुगेको थियो।
कुल ४६९ मिटर लम्बाइ भएको पुलको हालसम्म ८३ प्रतिशत भौतिक तथा ८२ प्रतिशत वित्तीय प्रगति भइसकेको छ। निर्माण सम्झौता नवौँ म्याद थप प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।
स्थलगत निरीक्षण टोलीमा मन्त्री घिसिङसँगै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मन्त्रालयका सचिव, सडक विभागका अधिकारी तथा स्थानीय प्रतिनिधिहरू सहभागी थिए।
कमला नदीको यो पुल मधेस प्रदेशको यातायात सहजता, सुरक्षा र आर्थिक गतिविधि प्रवद्र्धनका लागि महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ। मन्त्रालयले नियमित अनुगमन र आवश्यक समन्वय गर्दै काम समयमै सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याएको छ।


