गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको प्रमुख दायित्व आगामी निर्वाचनलाई तोकिएको मितिमै शान्तिपूर्ण ढङ्गमा सम्पन्न गर्नुुपर्ने बताएका छन्। आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उहाँले निर्वाचन व्यवस्थापनका सबै जिम्मेवारीलाई निर्धारित योजनाअनुसार अघि बढाउन मन्त्रालयका निकायहरूलाई निर्देशन दिए।
मन्त्री अर्यालका अनुसार निर्वाचन तयारीमा संलग्न सबै कर्मचारीले स्पष्ट दायित्वसहित सक्रिय र प्रतिबद्धतापूर्वक परिचालन हुनुपर्नेछ। उनले जेनजी आन्दोलनको भावना अनुरूप सेवा प्रवाहलाई छिटो, सरल र विद्युतीकरण गर्नुपर्ने आवश्यकता औंल्याइदैं अभिलेख व्यवस्थापनलाई पनि चुस्त पार्न निर्देशन दिए।
‘सेवाग्राहीले सरकारी प्रक्रियाका कारण अनावश्यक समस्या भोग्न नपरोस्,’ भन्दै उनले मातहतका निकायलाई कार्यशैली सुधार गर्ने आदेश दिए। आगामी निर्वाचनका लागि बजेट तथा कार्यक्रम व्यवस्था गर्न अर्थ मन्त्रालयले सहजीकरण गरेकोमा उनले धन्यवाद समेत व्यक्त गरे।
समीक्षामा प्रधानमन्त्री कार्यालय, योजना आयोग, अर्थ र संघीय मामिला मन्त्रालयबाट प्राप्त सुझावलाई अमलमा ल्याइने जानकारी उनले दिए। राजस्व चुहावट नियन्त्रणमा प्रगति पर्याप्त नभएको उल्लेख गर्दै उनले यस क्षेत्रमा देखिने परिणामका साथ काम गर्न आग्रह गरे।
त्यसबाहेक सीमापार अपराध न्यूनिकरण, लागु औषध नियन्त्रण, सडक दुर्घटना कमीका लागि कार्यशैली पुनरवलोकन गरी जनताले प्रत्यक्ष अनुभूत गर्ने परिणाम दिनु आवश्यक रहेको उनले बताए। सबै निकायले आफ्ना वार्षिक कार्ययोजना र माइलस्टोनलाई गति दिनुका साथै नियमित आन्तरिक समीक्षा अनिवार्य गर्नुपर्ने निर्देशन पनि दिए।
कार्यक्रममा गृह सचिव रामेश्वर दंगालले सुशासन र पारदर्शितालाई केन्द्रमा राखेर कार्य सम्पादन गर्न सम्बन्धित निकायहरूलाई आग्रह गर्दै सरकारले तोकेको नीतिगत कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्न निर्देशन दिए।


