आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जुम्लामा दुई नयाँ मतदान केन्द्र थप गर्न र एउटा केन्द्र सार्न जिल्ला निर्वाचन कार्यालयले सिफारिस गरेको छ। कार्यालयका निमित्त प्रमुख नारायणी आचार्यका अनुसार हिमा गाउँपालिका–१ र पातारासी गाउँपालिका–७ मा एक–एक मतदान केन्द्र थप्ने तथा तिला गाउँपालिका–९ मा रहेको एक केन्द्र स्थानान्तरण गर्ने प्रस्ताव केन्द्रीय निर्वाचन आयोगमा पठाइएको हो।
आयोगले मतदाता नामावली दर्ताको समयसीमा मंसिर ५ गतेसम्म तोकेअनुसार हाल अनलाइन प्रणालीमार्फत नाम दर्ता जारी छ। जिल्लामा ८४९ नयाँ मतदाता थपिएका छन्, जसमा ३७३ महिला र ४७६ पुरुष रहेका छन्। बाहिरी जिल्लाबाट ९७ जनाले जुम्ला नै केन्द्र बनाएर नाम दर्ता गराएका छन्। नयाँ दर्ता अघि जिल्लामा कूल मतदाता संख्या ६७ हजार ७३६ रहेको कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयले गत असोजदेखि मतदाता नामावली सङ्कलन गर्दै आएको थियो। कात्तिक मसान्तसम्म रहेको प्रारम्भिक म्यादलाई आयोगले उत्साहजनक सहभागिता देखिएकाले मंसिर ५ गतेसम्म थप गरेको हो।
एक नगरपालिका र सात गाउँपालिका समेटिएको जुम्लामा हाल ७९ मतदानस्थल र १०२ मतदान केन्द्र रहेका छन्। यस्तै, निर्वाचन तयारीसँग सम्बन्धित विषयमा छलफल गर्न कार्यालयले सर्वपक्षीय बैठकसमेत सम्पन्न गरेको छ, जहाँ मतदाता नामावली सङ्कलन, मतदान केन्द्रको अवस्था तथा निर्वाचन प्रक्रियाका विभिन्न पक्षबारे चर्चा गरिएको थियो।


