Banner Nepal
म्यानमारको स्क्याम केन्द्रबाट फसिएका ३७ नेपालीको उद्धार

आकर्षक रोजगारीको लालचमा परेर म्यानमारस्थित अवैध अनलाइन स्क्याम सञ्चालन केन्द्रमा फसाइएका ३७ नेपाली नागरिकलाई थाइल्याण्ड हुँदै सुरक्षित रूपमा नेपाल ल्याइएको छ। बैंककस्थित नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायहरूसँगको सहकार्यमा उनीहरूको उद्धार प्रक्रिया सम्पन्न गरी आज मंसिर ३ गते नेपाल एयरलाइन्सको उडान RA402 मार्फत स्वदेश फर्काइएको जनाएको छ।

राजदूतावासका विवरणअनुसार म्यानमारको म्यावडी क्षेत्रमा सञ्चालित अनलाइन डेटिङ, क्यासिनो, गेमिङ, फिसिङदेखि क्रिप्टोसम्बन्धी ठगीलगायतका अवैध क्रियाकलापमा जबरजस्ती संलग्न गराइएका ती नेपालीहरू १९ अक्टोबर २०२५ मा म्यानमार सुरक्षाकर्मीले स्क्याम केन्द्रमा छापा मार्दा भागेर थाइल्याण्ड प्रवेश गरेपछि उद्धार सम्भव भएको हो।

यस्तै, विभिन्न मुलुकमा यस्ता गतिविधिमा फसेका नेपालीहरूको उद्धार प्रक्रिया निरन्तर भइरहेको राजदूतावासले जनाएको छ। म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइल्याण्डको मेसोटमा रहेका २ जना तथा कम्बोडियामा रहेका ४ जना नेपालीलाई शीघ्र स्वदेश फर्काउने तयारी भइरहेको छ।

वैदेशिक रोजगारीका नाममा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकमा ‘छिटो र ठूलो आम्दानी’ भन्ने भ्रामक प्रस्तावमा नफर्न राजदूतावासले सबैलाई आग्रह गरेको छ। नेपाल सरकारले तोकेको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र विदेश जाने व्यवस्था सुरक्षित हुने जनाएको छ। जोखिमपूर्ण वैदेशिक रोजगारी रोकथामका लागि नागरिक समाज र सञ्चार माध्यमको सक्रियताको पनि राजदूतावासले अपेक्षा गरेको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update