काठमाण्डौ — बञ्चरेडाँडामा स्थानीयवासीको अवरोधसँगै आजदेखि फोहर बिसर्जन पुनः ठप्प भएको छ । विगतका सहमति कार्यान्वयन नहुँदा असन्तुष्ट स्थानीयले अवरोध बढाएपछि उपत्यकाबाट फोहर बोक्दै पुगेका गाडीहरूलाई फर्कन बाध्य पारिएको छ । फोहर व्यवस्थापनका माग पूरा नभएको भन्दै नुवाकोटको ककनी र धादिङको धुनबेँसी क्षेत्रमा लामो समयदेखि असन्तोष जारी छ ।
स्थानीयहरूले कात्तिक दोस्रो साता अनिश्चितकालीन अवरोध घोषणा गरेका थिए । फोहर व्यवस्थापनका मुद्दामा छलफल गर्न सहरी विकासमन्त्री कुलमान घिसिङ कात्तिक १६ गते प्रभावित क्षेत्र पुगे पनि १५ दिनभित्र काम सुरु गर्ने मौखिक प्रतिबद्धता व्यवहारमा नआएको भन्दै आजदेखि पुनः कडा अवरोध थालिएको धुनबेँसी–१ का स्थानीय निराञ्जन सञ्जेलले बताए ।
उनका अनुसार सिसडोल–बञ्चरेडाँडा–कुँडुले ल्यान्डफिल क्षेत्र सम्बन्धी १८ बुँदे सहमति कार्यान्वयनको कुनै ठोस प्रगति नदेखिएकोले लेखित प्रतिबद्धता बिना स्थानीय ढुक्क हुन नसक्ने अवस्था छ । ककनी गाउँपालिका–१, २, ३ र धुनबेँसी–१, ३ का प्रत्यक्ष प्रभावित बासिन्दाले ढाँडे क्षेत्रमा सडक रोकेर फोहर बिसर्जन रोक्न आएका गाडीलाई प्रवेश नदिन अवरोध कायम राखेका छन् ।
२०७९ जेठ २६ मा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहसहितको टोलीसँग सहमत गरिएका अवयव—फोहर रातमा मात्रै बिसर्जन गर्ने व्यवस्था, दुर्गन्ध न्युनिकरण, लिच्चड नचुहिने प्रबन्ध, खोलामा प्रदूषण नपुग्ने वैज्ञानिक प्रणाली जस्ता मुद्दा—चरणबद्ध रूपमा लागू हुनुपर्ने स्थानीयको जोड छ ।
सहमति कार्यान्वयनमा ढिलाइ हुँदा दुर्गन्ध फैलिनु, सरुवाजन्य रोगको जोखिम बढ्नु र दैनन्दिन जीवन प्रभावित भएको गुनासो स्थानीयले दोहोर्याइरहेका छन् । उनीहरूले मन्त्रीस्तरीय लिखित आश्वासनसहित जिम्मेवार अधिकारी प्रभावित क्षेत्रमै आएर प्रत्यक्ष समाधान प्रक्रियामा जुट्नुपर्ने माग गरेका छन् ।
स्थानीयको आन्दोलनलाई नुवाकोट र धादिङका जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेता–कर्मचारीले समर्थन जनाएका छन् ।


