Banner Nepal
सिमराको विरोध प्रदर्शनले विचलित नहुने एमाले नेता बस्नेतको प्रतिक्रिया

काठमाण्डौ — नेकपा एमालेका नेता महेश बस्नेतले बाराको सिमरामा सुरु भएको प्रदर्शनबाट आफूहरू प्रभावित नहुने स्पष्ट संदेश दिएका छन् । बस्नेत, महासचिव शंकर पोखरेलसहितका नेता प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सिमरा जाँदै गर्दा जेन–जेड समूहका प्रदर्शनकारीहरूले विमानस्थल क्षेत्रमा अवरोध गरेका थिए ।

विरोध क्रमशः तीव्र बन्दा प्रशासनले कर्फ्यु लागू गरेको छ । बस्नेतका अनुसार कर्फ्यु लगाउने निर्णय नैतिक दृष्टिले अस्वीकार्य छ । उनले आरोप लगाउँदै भने, ‘मधेश जागरण सभामा सहभागी हुन विमानस्थल जाने क्रममा जेन–जेडको नाममा दल–सम्बद्ध अराजक समूह उतारेर अवरोध गराइयो, र सामान्य स्थिति सम्हाल्न नसकेको प्रशासनले कर्फ्यु लगाउनु नैतिक रूपमा गलत कदम हो ।’

उनले सभा–सम्मेलन तथा स्वतन्त्र अभिव्यक्तिको संविधानले प्रदान गरेको मौलिक अधिकारमाथि नियन्त्रण गर्ने प्रयास भएको दाबी गरे । बस्नेतले सरकार फागुन २१ मा निर्वाचन गराउने भनेर दाबी गर्दै दलगत गतिविधि रोक्ने कामलाई ‘हास्यास्पद’ भन्दै आलोचना गरे ।

सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै बस्नेतले यस्ता अवरोधले आफूहरूलाई विचलित नगराउने बताए । ‘कठपुतली सरकार लोकतन्त्र, विधिको शासन र सुशासनको खिल्ली उडाउँदै छ । नियत सबैका सामु स्पष्ट भइसकेको छ । यस्ता कदमले हामी रोकिंदैनौं,’ उनले लेखे, ‘लोकतन्त्र, कानुनी शासन र सुशासनका पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहनेछ ।’

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update