Banner Nepal
एमसिसीले नेपालका लागि अनुदान बढायो, थप ५ करोड डलर उपलब्ध

काठमाण्डौ — नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले एमसिसी नेपाल सम्झौतामा अतिरिक्त ५ करोड अमेरिकी डलर अनुदान थप्ने घोषणा गरेका छन् । नयाँ प्रतिबद्धतासँगै परियोजनाको कुल आकार ७४ करोड ७० लाख डलर पुगेको छ, जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारले विनियोजन गर्ने १९ करोड ७० लाख डलर समावेश छ ।

थपिएको रकमले प्राथमिकतामा रहेका प्रसारण लाइन निर्माणलाई पूरा गर्ने, नेपालको ऊर्जा प्रणाली मजबुत बनाउने तथा क्षेत्रीय ऊर्जा व्यापारको मार्ग प्रशस्त गर्ने लक्ष्य रहेको बताइएको छ । ऊर्जा ग्रिडको भरपर्दोपनमा सुधार ल्याई राष्ट्रिय तथा क्षेत्रीय स्तरमा ‘कनेक्टिभिटी’ बढाउने एमसिसीको उद्देश्यलाई यसले थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।

सम्झौताबाट अमेरिकी प्रविधि र कम्पनीहरूलाई नेपाली ऊर्जा क्षेत्रभित्र प्रवेश गर्ने नयाँ अवसर पनि विस्तार हुने उल्लेख गरिएको छ । यस्तो आर्थिक सहयोगले नेपाल–अमेरिका सम्बन्धको दीर्घ साझेदारी झनै बलियो भएको बताइएको छ । दशकौँदेखि दुवै देशले आर्थिक प्रगति, ऊर्जा सुरक्षाका मुद्दा र आपसी समृद्धिलाई अघि बढाउन सहकार्य गर्दै आएका छन् ।

एमसिसी नेपाल परियोजना ऋणरहित, पूर्ण रूपमा अनुदानमा आधारित पूर्वाधार निर्माणमा केन्द्रित सहकार्य भएकाले यसले दुई देशबीचको विश्वास र विकास साझेदारीलाई निरन्तरता प्रदान गरेको अमेरिकी पक्षको धारणा छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update