Banner Nepal
लुम्बिनीमा डेढ महिनामा ४५ हजारभन्दा बढी नयाँ मतदाता थप

काठमाण्डौ — लुम्बिनी प्रदेशमा चालु मतदाता नामावली संकलनको क्रममा डेढ महिनाभित्र ४५ हजार ४८८ जना नयाँ मतदाता सूचीकृत भएका छन्। असोज १२ गतेदेखि सुरु गरिएको नामावली दर्ता कार्य प्रदेशभर निरन्तर जारी छ।

प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार १२ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता रुपन्देहीमा थपिएका छन्, जहाँ १० हजार ५३७ जनाले नाम दर्ता गराएका छन्। तीमध्ये ५ हजार ९५६ पुरुष र ४ हजार ५८१ महिला छन्। बाँकेमा ९ हजार ४७३ जना नयाँ मतदाता सूचीकृत भए पनि पुरुष–महिलाको विवरण अद्यावधिक हुन बाँकी छ।

कपिलवस्तुमा ५ हजार ९३०, दाङमा ४ हजार ९३२, नवलपरासी पश्चिममा ४ हजार ९२८, बर्दियामा २ हजार ५९, गुल्मीमा २ हजार ४८१, अर्घाखाँचीमा १ हजार ६८१, पाल्पामा १ हजार ५८५, रोल्पामा ६४६ तथा रुकुम पूर्वमा २९० जना नयाँ मतदाता थपिएको अधिकारी कुँवरले बताए।

लुम्बिनी प्रदेशका सबै १२ जिल्लामा बिहानी ८ बजेदेखि साँझ ६ बजेसम्म दर्ता कार्य निरन्तर चलिरहेको छ। मङ्सिर ५ गतेसम्म मतदाता नामावली संकलन जारी रहने हुँदा नयाँ मतदाताको संख्या थप बढ्ने निर्वाचन कार्यालयको अनुमान छ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update