Banner Nepal
सर्वोच्चमा पूर्ण सेवाको पुनः सुरुवात

काठमाण्डौ– आगजनी घटनाको दुई महिनापछि सर्वोच्च अदालतमा रोकिएका सबै प्रकारका सेवा आजदेखि पुनः सञ्चालनमा आएका छन्। कात्तिक २० गते बसेको पूर्ण बैठकले नियमित सुनुवाइसहित सम्पूर्ण सेवा बहाल गर्ने निर्णय गरेको थियो।

यसअघि अदालतले मुद्दा तथा रिट दर्तामा सीमित सेवा दिइरहेको थियो। तर आजबाट नष्ट भएका फाइल र मिसिलका कागजात पुनः प्राप्ति तथा प्रमाणीकरणको प्रक्रिया पनि सुरु गरिएको छ।

लामो समयदेखि अवरुद्ध सेवा पुनः सक्रिय गर्नका लागि कर्मचारीहरूले बिहानैदेखि सर्वोच्च परिसरमै बस्दै सेवा प्रवाह गरिरहेको उपरजिस्ट्रार निराजन पाण्डेले बताए। उनका अनुसार, सेवाग्राहीको भीड बढ्ने अनुमान गर्दै सोमबार बिहान ७ बजेदेखि नै कर्मचारीहरू उपस्थित भएका थिए।

‘सेवाग्राही अलमल नपरोस् भनेर छुट्टै स्वयम्सेवक पनि राखिएका छन्,’ पाण्डेले भने। बदलिँदो अवस्थालाई ध्यानमा राखेर अदालतको सेवा व्यवस्थामा सुधारका प्रयास भइरहेको उनले बताए।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update