काठमाण्डौ —
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आमनागरिकको हित सुनिश्चित गर्न गणतन्त्र नै सबैभन्दा उपयुक्त शासन व्यवस्था भएको बताएका छन्। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्र : चुनौती र अवसर’ विषयक अन्तरसंवादमा बोल्दै उनले गणतन्त्र गरिब तथा वञ्चित वर्गको हितमा केन्द्रित व्यवस्था भएकाले नागरिकको अवस्था रुपान्तरण गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे।
उनका अनुसार, विभिन्न ऐतिहासिक मोड पार गर्दै देशले २०६५ जेठ १५ मा गणतन्त्रमा प्रवेश गरे पनि अपेक्षित स्तरको परिवर्तन जनजीवनमा देखिन नसक्नु शासन प्रणालीका कमजोरीकै कारण हो। उनले भ्रष्टाचार र राजनीतिक अस्थिरताले सकारात्मक प्रभाव रोकिएको बताउँदै प्रणाली सुधार अपरिहार्य भएको बताए।
मुख्यमन्त्री बानियाँले जेनजी आन्दोलनलाई पनि नेतृत्व परिवर्तनको आवश्यकतासँग जोड्दै अब सबै पक्षले आफ्ना कमजोरी सच्याई नयाँ पुस्तासँग सहकार्यमा उभिनुपर्ने आवश्यकता औंल्याए।
उनले बागमती प्रदेशको राजनीतिक प्रभाव तथा जनसङ्ख्यात्मक महत्व उल्लेख गर्दै सहयोग, समन्वय र सहअस्तित्वमार्फत अघि बढ्न संवादले महत्वपूर्ण आधार बनाउने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रदेशसभाका दलहरू, जेनजी पुस्ताका युवाहरू तथा विशेषज्ञबीच संघीय प्रणालीका चुनौती र समाधानबारे विस्तृत छलफल भएको थियो।

