नेपालका सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच संयुक्त गस्ती तथा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने सहमति भएको छ। दुुवै देशका सुरक्षा निकायबीच भारतको नयाँ दिल्लीमा सम्पन्न नवौँ द्विपक्षीय समन्वयात्मक बैठकमा सीमा अपराध नियन्त्रणदेखि लागुऔषध ओसारपसार रोकथामसम्मका विषयमा विस्तृत छलफल गरिएको हो।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नेतृत्वको नेपाली टोली र एसएसबीका महानिर्देशक संजय सिङ्घल नेतृत्वको भारतीय टोलीबीच भएको बैठकमा अवैध आवतजावत नियन्त्रण, चोरी–निकासी तथा पैठारी रोकथाम, सूचना आदानप्रदान र तालिम सहयोगलाई अझ सुदृढ बनाउने निर्णय गरिएको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
कात्तिक २६ देखि २८ गतेसम्म चलेको यो बैठकले गत मंसिरमा काठमाडौंमा सम्पन्न आठौँ बैठकबाट पारित एजेन्डाको कार्यान्वयन अवस्थामाथि समेत समीक्षा गर्यो। दुवै पक्षले साझा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र आगामी रणनीति तय गर्ने प्रतिबद्धता जनाएका छन्।

