काठमाण्डौ — मेडिकल व्यवसायी दुर्गा प्रसाईँको विचार र अभियानलाई संस्थागत गर्ने उद्देश्यसहित नागरिक बचाउ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ। यसअघि नै दर्ता प्रक्रियाको पहल भए पनि दलका नेतृत्वकर्ता आइतबार पुनः आयोग पुगेका छन् र आवश्यक कागजातमा हस्ताक्षर गरेका छन्।
आयोगमा बुझाइएको विवरणअनुसार पार्टीको नेतृत्व माधव खतिवडाले सम्हाल्नेछन्। प्रसाईँले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृतिको संरक्षण र नागरिक बचाउ महाअभियान सञ्चालन गर्दै आएका छन्, र सोहि अभियानको निरन्तरताका रूपमा नयाँ दल गठन गरिएको बताइएको छ।
खतिवडाले दलमा हाल २९ सदस्यीय केन्द्रीय समिति रहेको जानकारी दिएका छन्। उनका अनुसार, दुर्गा प्रसाईँका लक्ष्य–दृष्टिकोणलाई प्राप्त गर्ने उद्देश्यले दल दर्ता गरिएको हो र प्रसाईँ संरक्षकका रूपमा रहनेछन्।

