ललितपुर, कात्तिक २९ । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन र ग्लाइड सिटीको संयुक्त आयोजनामा शनिबार यूएन पार्कमा एकदिवसीय ग्लाइड फेस्ड स्केट स्पीड च्याम्पियनसिप २०२५ सम्पन्न भएको छ । खुला च्याम्पियनसिपअन्तर्गत जुनियर र सिनियर दुवै विधामा ५०–५० जना खेलाडीले सहभागिता जनाएका थिए ।
जुनियर विधामा १५० मिटर तथा सिनियर विधामा २५० मिटरको छ फिट ट्र्याकमा प्रतिस्पर्धा भएको थियो । जुनियरतर्फ सुवास श्रेष्ठ प्रथम, एन्जे शेर्पा दोस्रो र सुवर्ण अधिकारी तेस्रो भए भने सिनियरतर्फ रामु थारु प्रथम, विपिन मगर दोस्रो र आर्यन तेस्रो स्थान हासिल गरे ।
विजेताहरूलाई पूर्व खेलकुदमन्त्री महेश्वरसिंह गहतराज, एसोसिएसन अध्यक्ष अच्युत खनाल र प्रमुख प्रशिक्षक दिलिपराज बरालले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा ग्लाइड सिटीका सञ्चालक बसन्त पन्तले अतिथिहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले स्केटिङप्रति बालबालिका तथा युवायुवतीको आकर्षण बढ्दै गएकाले यो खेलको भविष्य उज्ज्वल रहेको बताए । निर्णायक मण्डलमा प्रमुख प्रशिक्षक दिलिपराज बरालसहित राष्ट्रिय खेलाडी कृपा पन्त, योगिना श्रेष्ठ, मुस्कान मगर र प्रयास खड्का थिए ।





