काठमाण्डौ— कोलम्बियाली सेनाले भेनेजुएला नजिकको एराउका प्रान्तमा गरेको बमबारीमा ९ जना विद्रोही लडाकू मारिएका छन्। देशको रक्षा मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार कारबाही राष्ट्रपति गुस्ताभो पेट्रोको निर्देशनमा गरिएको हो। उनी हाल कोकेन तस्करीमा संलग्न समूहविरुद्धको सैन्य अभियानलाई तीव्र बनाउने रणनीतिमा छन्।
राष्ट्रपति पेट्रोमाथि पहिलेदेखि विद्रोही समूहहरूविरुद्ध पर्याप्त कदम नचालेको आलोचना हुँदै आएको थियो। ताजा कारबाहीले उक्त असन्तोष चिर्न खोजिएको विश्लेषण गरिन्छ।
स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार उच्चस्तरीय कमाण्डर एन्तोनियो मेडिना मारिएको हो कि भन्ने विषयमा अनुसन्धान भइरहेको छ। मेडिना पूर्व–फार्क लडाकू र ईएलएनबीच भएको रक्तपातपूर्ण द्वन्द्वमा प्रमुख पात्र मानिन्थे।
यसअघि पनि अमेजन क्षेत्रस्थित पूर्व–फार्क उपसमूहमाथि गरिएको हवाई हमलामा १९ जनाको मृत्यु भएको थियो। विद्रोहविरुद्ध आक्रामक नीति अपनाइरहेको पेट्रो प्रशासन अमेरिकाबाट भने आलोचनाको सामना गरिरहेको छ।
अक्टोबरमा अमेरिकाले राष्ट्रपति पेट्रो, उनकी पत्नी, छोरा र एक उच्च अधिकारीमाथि प्रतिबन्ध घोषणा गरेको थियो। उनीहरूले मादक पदार्थ तस्करीमा सहकार्य गरेको आरोप लगाइए पनि ठोस प्रमाण सार्वजनिक गरिएको छैन। सन् २०२२ मा सत्ता सम्हालेपछि पेट्रोले सशस्त्र कोकेन उत्पादक समूहहरूसँग संवादलाई प्राथमिकता दिएका थिए।
पेट्रो पुनः चुनाव लड्न नपाउने स्थितिमा रहेका कारण ताजा विवाद र विदेशी आलोचनाले आगामी निर्वाचनमा उनका राजनीतिक सहयोगीको लोकप्रियतामा असर पार्ने अनुमान विश्लेषकहरूले गरेका छन्।


