Banner Nepal
राष्ट्रिय परिचयपत्रमार्फत ८० हजारभन्दा बढी नयाँ मतदाता थप

काठमाण्डौ— राष्ट्रिय परिचयपत्रमार्फत नामावली संकलन खुला भएपछि ८० हजारभन्दा बढी नयाँ मतदाता सूचीकृत भएका छन्। आयोगले नयाँ व्यवस्था लागू गरेसँगै मतदाता थपिने क्रम उत्साहजनक रूपमा बढेको जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार शुक्रबार राति ९ बजेेसम्म परिचयपत्रमार्फत ५० हजार २१७ पुरुष, ३० हजार २३५ महिला र ४ अन्य गरी कुल ८० हजार ४५६ जना नयाँ मतदाता सूचीकृत भएका छन्।

यससँगै निर्वाचन घोषणा भएपछिको कुल मतदाता दर्ता संख्या दुई लाख ८१ हजार १२९ पुगेको आयोगले जनाएको छ। नामावली दर्ता प्रक्रिया आज पनि जारी छ।

चाप व्यवस्थापनका लागि कात्तिक २७ गतेदेखि आयोगले परिचयपत्र प्रयोग गरी फोटो तथा औंठाछापसहितको जैविक विवरण दिन सकिने व्यवस्था लागू गरेपछि परिचयपत्र बनाउने र दर्ताको दर तीव्र रूपमा बढेको हो।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै आयोगले मतदाता नामावली संकलन र अद्यावधिक कार्य तीव्र पारेको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update