काठमाडौँ — राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराइसकेका नागरिकले अब घरैबाट वा विदेशबाटै अनलाइन माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भएका छन्। निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँगको समन्वयमा यो सुविधा बिहीबारदेखि शुभारम्भ गरेको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगमा आयोजित कार्यक्रममा यसको उद्घाटन गर्दै जिल्ला निर्वाचन कार्यालयमा लामबद्ध हुनुपर्ने झन्झट अन्त्य भएको बताए।
राष्ट्रिय परिचयपत्रमा प्रयोग भएको बायोमेट्रिक तथ्यांकलाई आधार बनाएर मतदाता नामावली दर्ता तथा परिचयपत्र छपाइ हुने व्यवस्था गरिएको छ। दर्ताका लागि आयोगको पोर्टलमा राष्ट्रिय परिचयपत्र नम्बर र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्छ। विदेशबाट दर्ता गर्दा मोबाइलको सट्टा इमेल ठेगाना प्रयोग गर्न सकिन्छ। त्यसपछि देखिने विवरणमा मतदान गर्ने प्रदेश, जिल्ला र स्थानीय तह छनोट गर्नुपर्ने हुन्छ। परिचयपत्र नभएकालाई भने यो सुविधा उपलब्ध नहुने आयोगले जनाएको छ।
यसै क्रममा जेनजी आन्दोलनका घाइतेहरूलाई राष्ट्रिय ट्रमा सेन्टरको शय्यामै मतदाता परिचयपत्रको फाराम भराइएको छ। जेनजी अभियन्ताहरूले ल्यापटपमार्फत बायोमेट्रिक तथ्यांकका आधारमा फाराम भरेका थिए। कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल पनि उपस्थित थिए। मतदाता दर्ताको चाप बढेपछि आयोगले यो विकल्प अपनाएको हो।
आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूसँग छलफल गरेको छ। कान्तिपथस्थित आयोग कार्यालयमा भएको छलफलमा कार्यवाहक प्रमुख आयुक्त भण्डारी, अन्य आयुक्त तथा दलका प्रतिनिधि सहभागी थिए। सचिव माहादेव पन्थले प्राविधिक तयारी र परामर्शपछि निर्वाचन कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए। फागुन २१ मा राष्ट्रिय सभाका १८ निर्वाचित र १ मनोनीत गरी १९ सदस्यको पदावधि सकिँदैछ।


