Banner Nepal
नेपाल-भारत कार्गो ढुवानीमा ठूलो सहजता, विराटनगर र भैरहवामा सबै प्रकारका सामान आयात खुला

काठमाडौँ — नेपाल र भारतबीचको पारवहन सन्धि प्रोटोकल संशोधन भएसँगै भारतको कोलकाता र विशाखापट्टनम बन्दरगाहबाट नेपालको विराटनगर तथा भैरहवा भन्सार नाकासम्म सबै प्रकारका कार्गो ढुवानी गर्न सकिने भएको छ। यसअघि यी दुई नाकामा चार प्रकारका बल्क कार्गो मात्र ढुवानी हुँदै आएकामा अब कन्टेनरमा फरक–फरक सामान राखेर आयात गर्न पाइने व्यवस्था थपिएको हो।

बिहीबार नयाँ दिल्लीमा नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भएको भेटमा प्रोटोकल संशोधन गरी समझदारीपत्र आदानप्रदान गरिएको थियो। यसले जोगबनीसम्म रेलमार्गबाट आउने कार्गो अब विराटनगर भन्सार परिसरसम्मै रेलबाटै ल्याउन सकिने व्यवस्था गरेको छ। उद्योग मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार, जोगबनीमा अनलोड गरेर सडकमार्गबाट विराटनगर ल्याउनुपर्ने बाध्यता हटेसँगै आयातकर्ताको ठूलो रकम बचत हुनेछ।

यस्तै, भारतको नौतनवासम्म रेल र त्यहाँबाट सडकमार्ग हुँदै भैरहवासम्म चार प्रकारका बल्क कार्गो (रासायनिक मल, कोइला, सिमेन्ट र क्लिङ्कर) मात्र ढुवानी गर्न पाउने पुरानो व्यवस्था अब सबै प्रकारका सामानमा विस्तार भएको छ। यसअघि वीरगन्जको रक्सौल नाकाबाट मात्र सबै कार्गो आयात गर्न सकिने सुविधा थियो। संशोधन तत्काल कार्यान्वयनमा आउने र मन्त्रिपरिषद्को स्वीकृतिसँगै छिट्टै लागू हुने सचिव घिमिरेले बताए।

मन्त्री सिन्हाले व्यापार सहजीकरणका लागि प्रमाणीकरण प्रक्रिया सरलीकरण र पारवहन सुधारमा जोड दिँदै द्विपक्षीय सहकार्य बढाउन आग्रह गरेका थिए। भारतीय मन्त्री गोयलले नेपाललाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै उठेका विषय छिटो टुङ्ग्याउन संरचना सक्रिय बनाउन निर्देशन दिएका छन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update