Banner Nepal
नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’ नाममा विवाद, आयोगमा औपचारिक उजुरी

काठमाण्डौ — नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम दर्ताका विषयमा निर्वाचन आयोगमा औपचारिक उजुरी परेको छ। दल दर्ता प्रक्रियामा रहेका १० वाम घटकको नयाँ एकतामाथि नेकपा अध्यक्ष लोकनारायण सुवेदीले कात्तिक २६ गते उजुरी पेश गरेका हुन्। कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत वाम समूहले एकता गर्दै ‘नेपाली कम्युनिस्ट पार्टी’ नाममा दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए।

सुवेदीले आफ्नो नेतृत्वको दलको छोटकरी नाम ‘नेकपा’ भएकाले नयाँ गठित पार्टीको नाम, संक्षिप्त रूप र उच्चारणमा अत्यधिक समानता देखिएको दाबी गरेका छन्। राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ६(ख) विपरीत हुने भन्दै उनले दर्ता नदिन माग गरेका छन्। नयाँ दलले नाममा सामान्य हेरफेर गरेर भ्रम फैलाउने उद्देश्य बोकेको आरोप पनि उनले उजुरीमा उल्लेख गरेका छन्। अंग्रेजी संक्षिप्त रूप ‘CPN’ प्रयोग हुँदा पहिचान झनै अस्पष्ट हुने उनको तर्क छ।

उनका अनुसार, आफ्नो दल संविधान २०७२ को धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐनअन्तर्गत दर्ता भइसकेको र ‘नेकपा/CPN’ नाम आधिकारिक रूपमा आयोगमा सुरक्षित रहेको छ। सुवेदीले विगतमा यस्तै नाम मिल्दोजुल्दोपनको विवाद सर्वोच्च अदालतसम्म पुगेको र दर्ता बदर भएको उदाहरण समेत प्रस्तुत गर्दै स्पष्ट पहिचान नबन्ने दललाई दर्ता नदिन उचित हुने बताएका छन्।

उजुरीबारे आयोग आवश्यक प्रक्रिया अघि बढाइरहेको स्रोतको भनाइ छ। स्रोतका अनुसार, ‘नेपाली कम्युनिस्ट पार्टी’ नाममा दर्ता निवेदनविरुद्ध दर्ज भएको उजुरीको अन्तिम निर्णय आयोगले गर्नेछ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update